मंसिर ७, काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भ्रातृ संगठन युवा संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले आज गर्ने प्रदर्शनमा कडा सुरक्षा व्यवस्था गरेको छ । दुवै पक्षबीच झडप हुनसक्ने आकंलन गर्दै प्रदर्शन स्थललाई प्रहरीले साङ्लो हालेर घेरा हाल्ने तयारी गरेको छ । सशस्त्र र नेपाल प्रहरीको घेराभित्र रहनेगरी प्रदर्शन गर्न मिल्नेगरी सुरक्षा व्यवस्था अपनाइएको छ ।

प्रदर्शनस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर प्रहरी र सादा पोशाकका गरी ७ हजार प्रहरीले सुरक्षा दिने भएका छन् । तीमध्ये नेपाल प्रहरीका करिब ४ हजार ५ सय, सशस्त्रका १ हजार ६ सय, राष्ट्रिय अनुसन्धान विभागका करिब ३ सय ५० प्रहरी परिचालन हुनेछन् । भीड नियन्त्रण र दुवैतर्फकै गतिविधिलाई सूक्ष्म अध्ययन गर्न गुप्तचर प्रहरीसहित सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको हो । करिब २ हजारको संख्यामा सादा पोशाकका प्रहरी परिचालन हुनेछन् । नेपाली सेना सडकमा ननिस्कए पनि आवश्यक परेको खण्डमा परिचालित हुने व्यवस्था गरिएको छ ।
स्थानीय प्रशासनले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ’ अभियानको नारा बोकेका मेडिकल व्यवसायी प्रसार्इंलाई बल्खु र ‘भ्रष्टाचार, अनियमितता र सामाजिक अराजकताविरुद्ध’ को नारा बोकेका युवासंघ तथा अनेरास्ववियुलाई तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएको छ । शक्ति प्रदर्शन गर्ने तयारी गरेको दुवै पक्ष छुट्टाछुट्टै स्थानमा भेला भएर नाराजुलुससहित आ–आफ्नो प्रदर्शन स्थलमा पुग्ने भएका छन् ।
दुवै पक्षले भक्तपुरबाट जुलुश प्रदर्शन गर्ने तयारी गरेको छ । प्रहरीले आजको प्रदर्शनमा हुनेसक्ने घुसपैठ र अन्य घटनालाई मध्यनजर गर्दै उपत्यका नजिकको प्रहरीलाई सतर्कतामा राखेको छ । उच्च स्रोतका अनुसार आवश्यक फोर्स तैनाथ गर्न नेपाली सेनाको हेलिकोप्टर प्रयोग गर्ने तयारी गरिएको छ । उपत्यकाको हकमा जिल्ला प्रहरी परिसर काठमाडांै, भक्तपुर र ललितपुरका सबै वृत, प्रभाग र चौकीका प्रहरी परिचालन गरिएको छ ।
उपत्यकाका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी लालमणी आचार्यको कमान्डमा कमान्ड सेन्टर स्थापना गरिएको छ । सो सेन्टरमा सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका अधिकृत रहनेछन् । राजधानीको सुरक्षा व्यवस्थाको कमान्ड काठमाडौैं प्रहरी परिसरका प्रमुख एसएसपी भुपेन्द्र खत्रीले गर्नुहुनेछ । उहाँकै नेतृत्वमा सुरक्षा निकाय परिचालन हुनेछन् । प्रदर्शनमा दंगा हुनसक्ने आशंका गर्दै प्रहरीले विभिन्न स्थानमा विशेष फोर्स तैनाथ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं र ललितपुरले निषेधित क्षेत्र घोषणा गरेका क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको थप सुरक्षाकर्मी परिचालन हुने छन् । प्रहरी प्रवक्ता डीआईजी कुबेर कडायतले प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आवश्यक सबै सुरक्षा व्यवस्था गरिएको बताउनुभयो ।
प्रहरीले मंगलबार र हिजो बुधबार उपत्यका प्रवेश गर्ने सबै नाकामा सवारी साधनको विशेष चेक जाँच शुरू गरेको छ । संकटकालको झल्को दिनेगरी प्रहरीले पृथ्वी राजमार्गको धादिङको विभिन्न स्थान र उपत्यका प्रवेश गर्ने नाकामा यात्रु ओरालेर समेत चेकजाँच गरेको थियो । उपत्यका प्रवेश गर्ने फर्पिङ, थानकोट, मातातीर्थ, धुलिखेल, भक्तपुरको जगातीमा सवारी साधन रोक्दै यात्रु ओरालेर चेकजाँच गरेको थियो । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको बैठकले आजको प्रदर्शनमा हुनसक्ने सम्भावित घटनाको विश्लेषण गरी सुरक्षा व्यवस्था तयार गरिएको बताइएको छ । प्रदर्शनलाई ध्यानमा राखेर गृह मन्त्रालयमा पटक पटक बैठक बसेको थियो । यो समाचार आजको नेपाल समाचार पत्रमा रहेको छ ।