पौष ६, काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यार्थीलाई विद्यालयको नियमितबाहेक फरक पोसाक किन्न बाध्य नपार्न आग्रह गरेको छ । महानगरभित्रका सबै विद्यालयलाई शुक्रबार परिपत्र गर्दै फरक पोसाक किन्न बाध्य पारिए कारबाही गर्ने चेतावनी दिइएको छ ।
शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका छन्।
“काठमाडौं महानगरपालिकाभित्र सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पोसाकभन्दा फरक पोसाक किन्न बाध्य पारेको भन्ने गुनासो प्राप्त भएकाले तोकिएको विद्यालय पोसाकबाहेक अन्य पोसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न सबै विद्यालयलाई अनुरोध गरिन्छ,” परिपत्रमा लेखिएको छ, “कोही कसैले यस परिपत्रविपरीत कार्य गरेको पाइएमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ (संशोधनसहित) र अन्य प्रचलित कानुनबमोजिम दण्ड सजाय हुने व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।”

