• २०८३ बैशाख ४ गते शुक्रवार

जब कांग्रेसको ब्यानरमा छोपियो ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’

पत्रपत्रिका पढ्न लाग्ने समय : ३ मिनेट

पौष ४, पाेखरा। मंगलबार बिहान ११ बजे पोखरा सभागृहमा सुरु हुने भनिएको कांग्रेस गण्डकीको पहिलो सम्मेलन दिउँसो १ बजेसम्म सुरु भएन । कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्षस्थ नेताले सम्मेलनमा सम्बोधन गर्ने तालिका थियो । कार्यक्रम सुरु हुनै ढिला भएपछि कार्यकर्ता अन्योलमा परे । देउवाले हलभित्र टाँसिएको ब्यानरमा लेखिएको नाराप्रति असहमति जनाएपछि कार्यक्रम ढिलो गरी सुरु भएको थियो ।

प्रदेश सम्मेलनको ब्यानरमा माथिपट्टि ठूलो अक्षरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं’ लेखिएको थियो । त्यसैको तलपट्टि अलि सानो अक्षरमा ‘इमान भएकाहरूलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारबाट पार्टीलाई बचाऔं, कांग्रेसी चरित्र पुनर्स्थापित गरौं’ लेखिएको थियो । ब्यानरमा उक्त नारा लेखिएको जानकारी पाएपछि प्रदेश सभापति शुक्रराज शर्मा र सभापति देउवाबीच भनाभन नै पर्‍यो । देउवा शर्मासँग रिसाए पनि । यतिसम्म कि, देउवाले ब्यानर हटाए मात्र कार्यक्रमस्थलमा जाने अडान लिए । अन्त्यमा ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्यांशलाई छोप्न वा मेट्न शर्मा तयार भए । हरियो टेपको जोरजाम गरेर उक्त वाक्यांश छोप्न लगाइयो । त्यसपछि मात्रै सभापति देउवा कार्यक्रमस्थल प्रवेश गरे ।

कास्की कांग्रेसका एक नेताले ब्यानरकै विषयलाई लिएर देउवा र शर्माबीच भनाभन भएको बताए । कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछानेले भने उक्त वाक्यांश अशुद्ध भएकाले टेप टाँसिएको तर्क गरे । नारामा उक्त वाक्य लेखिएको र त्यसलाई टेप टाँसेर छोपिएको विषय त्यतिमै टुंगिएन । कार्यक्रममा वक्ताहरूले समेत घटनाप्रति विरोध जनाए । उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले टेपले नारा छोपिएको तर्फ लक्ष्य गर्दै भने, ‘हातमा कालो लागेको छ भने साबुनपानीले धुने हो, रुमालले छोपेर लुकाउने होइन । रुमाल झिकेर हात पुछ्दा आफ्नै अनुहारमा कालो लाग्छ ।’

महामन्त्री गगन थापाले ब्यानरमा नारा छोप्ने/नछोप्नेभन्दा महत्त्वपूर्ण नेतृत्वले काम गरेर देखाउन सक्नुपर्ने बताए । ‘यो पाँच वर्ष कांग्रेसले संविधानका प्रावधानलाई प्रयोग गर्‍यो, राष्ट्रियतालाई मजबुत बनायो र देशमा जनतालाई अवसर दियो भन्ने बनाउने ठाउँमा हामी छौं । यत्ति कुरा गरौं । कसरी गर्ने ? संकल्प गर्ने । कसले गर्ने ? नेतृत्वले गर्ने,’ उनले भने, ‘भ्रष्टाचारलाई हटाउँछु भनेर ब्यानरमा लेखे पनि छोपे पनि काम गर्‍यो भने भयो, काम गरेन भने भएन ।’

थापाले पार्टी सभापतिले जिम्मा लिएपछि काम गर्ने जाँगर चलाउनुपर्ने र नभए विश्राम लिए पनि केही फरक नपर्ने अभिव्यक्ति दिए । उनले भने, ‘जाँगर छ भने काम गरौं, सभापतिसँग लडेको सकिएन, माया गरेर फकाएर हुन्छ भने त्यो पनि कोसिस गरौंला । कतिले सभापतिलाई फकाउने हो भने छिटो पाइन्छ भन्छन् । जे–जे गर्ने हो गरौं । सकियो, बर्बाद भयो भनेर धेरै रुवाबासी नगरौं ।’

सम्मेलनमा केन्द्रीय नेताले नै समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्ने बताएपछि सभापति देउवाले खण्डन गर्दै बहुदलीय लोकतन्त्र कांग्रेसको सिद्धान्त भएकाले त्यसलाई अझै सफल बनाउन संविधानमा समावेशी र समानुपातिक व्यवस्था राखिएको बताए । ‘हाम्रो पार्टीका लागि सिद्धान्त र आदर्श महत्त्वपूर्ण कुरा हुन् । हाम्रो आदर्श र सिद्धान्त मानेर सबै पार्टी आएका छन् । त्यस मानेमा हाम्रो पार्टीको जित भएको मान्नुपर्छ,’ देउवाले भने, ‘मल्टिपार्टी डेमोक्रेसी हाम्रो पार्टीको सिद्धान्त र आदर्श हो । त्यसलाई अझैं पूर्णरूपमा सफल बनाउन समावेशी, समानुपातिक पनि राखिएको छ । यो सबैको देश हो । महिला, दलित, जनजाति, अपांग, सबैलाई एकसाथ लैजानुपर्छ ।’

यस्तो अवस्थामा कुनै पनि पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले अरू पार्टीसँग मिलेर जानुपर्ने बाध्यता र आवश्यकता दुवै भएको उनले बताए । आफ्नै पार्टीभित्र अन्तरघातको रोग रहेकाले त्यसलाई निर्मूल गरेर अझैं ठूलो पार्टी बनाउनुपर्ने देउवाले उल्लेख गरे । प्रदेश सम्मेलन गर्ने क्रममा देशैभरि कांग्रेसप्रतिको उत्साह र आकर्षण बढेको बताउँदै सभासम्मेलनमा ठूलो सहभागिताले महत्त्वपूर्ण सन्देश दिएको पनि उनले बताए । ‘अहिले देशमा मात्र नभई विदेशमा पनि कांग्रेसको स्थितिप्रति चिन्ता र चासो छ,’ उनले भने, ‘हाम्रो पार्टीलाई जसरी भए पनि अब एक गराएर, आपसमा मेलमिलाप गराएर अबको चुनावमा भरसक बहुमत, नभए सबैभन्दा ठूलो पार्टी बनाउन अहिलेदेखि लागौं ।’

सम्मेलनलाई सभापति देउवा, उपसभापति गुरुङ, महामन्त्री थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, नेताहरू शेखर कोइराला, शशांक कोइराला, गोपालमान श्रेष्ठ, दीपक गिरी, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, रोमी गौचनलगायतले सम्बोधन गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस