• २०८३ बैशाख ५ गते शनिवार

गाउँका घरमा ताला

पत्रपत्रिका पढ्न लाग्ने समय : ४ मिनेट

मंसिर ३०, बझाङ । खप्तडछान्ना गाउँपालिका–३ धडाका सेरु सार्कीको घरमा ताला लागेको २२ वर्ष भयो । घर’round झार उम्रिएर गुजुमुज्ज भएको छ । घरको छाना भत्किन थालेको छ । उनी गाउँ छोडेर भारत रोजगारीमा गएको २२ वर्ष नै भइसक्यो । सुरुमा छोराछोरीको लालनपालन गर्ने भन्दै एक्लै भारत छिरेका सेरुले दुई–तीन वर्ष भारतमै रोजगारी गरे ।

त्यसपछि फर्किएर दुई छोरा, बुहारी, छोरी, श्रीमतीसहित ७ जनाको परिवार सँगै लिएर घरमा ताला लगाएर भारत पसेपछि उनीहरू घर फर्केका छैनन् । उनले छोरीको विवाह भारतकै नागरिकसँग गरिदिए । अहिले भारतमै रोजगारी गर्दै घरजम गरेर बसेका छन् । त्यस्तै, सोही गाउँका रामबहादुर सार्कीको घरमा ताला लागेको पनि ६ वर्ष भयो । उनको घर रेखदेख गर्ने कोही छैनन् ।

तीन छोरी, दुई छोरा, उनी र श्रीमती भारतमै छन् । गाउँघरमा एकछाक जोहो गर्नसमेत धौधौ हुने, उब्जनीका लागि जमिन नभएको र सम्पत्तिका नाममा एउटै घर मात्रै भएका रामबहादुरले लामो समय गाउँमै मजदुरी गरे । अरूका जग्गामा काम गरेर गुजारा गर्दै आए । भोकभोकै बस्नुपर्ने परिस्थिति अन्त्य नहुने देखेपछि उनी सपरिवार भारत पस्न बाध्य भएका हुन् ।

रामबहादुर मात्रै नभई उनकै छिमेकी राजे सार्कीको घरमा ताला लागेको पाँच वर्ष पूरा भयो । उनी पनी परिवारसहित भारत पसेका हुन् । उनको घर जोखिममा छ । केही महिनाअघिको भूकम्पका कारण घर जोखिममा परेको हो । उनी पनी सपरिवार भारत जानुको मुख्य कारण आयस्रोत नहुनु, अर्काको भरमा परेर जीविका चलाउनु, एकछाक खाना जोहो गर्न अर्काको खेतबारीको काम गर्नु, मागेर जीविका चलाउनु र काम गरेर खाने वातावरण नहुनु हो ।

गाउँका हिरा सार्की, बने सार्की, सिबु सार्की, कन्तरे सार्की, हर्क सार्कीलगायत १५ परिवारको घरमा ताला लागेको छ । कसैको घरमा वृद्धवृद्धा कुरिरहेका छन्, त कसैको घरमा ताला लागेको छ । रोजगारीको खोजीमा भारत नगएको एउटा घर पनि बाँकी छैन । ‘मेरो १९ जनाको परिवार हो, तीन–चार परिवार मात्रै गाउँमा छौं, अरू सबै रोजगारी खोजीमा घरमा ताला लगाएर सपरिवार भारतका विभिन्न सहर पुगेका छन्,’ स्थानीय हाँस्या सार्की भन्छन्, ‘परिवारसहित भारत पसेकाहरू वर्षौं भइसक्दासमेत फर्किएका छैनन् ।

कहिलेकाहीँ देवीदेवताको पूजाआजा गर्दा आउने गर्छन्, पूजाआजा गर्न एक–दुई दिन मात्रै गाउँमा बस्ने र तुरुन्तै भारतमै फर्किने गरेका छन्, उनीहरूलाई गाउँघरको माया भए पनि बाध्यताले जानुपर्ने परिस्थिति आइलागेको हो ।’ रोजगारी खोजीसँगै भारत पसेकाहरूले छोराछोरीसमेत सँगै लाने गरेका कारण उनीहरूको जीवनसमेत अन्योल बन्दै गएको छ । अध्ययन गराउनसक्ने क्षमता उनीहरूको हुँदैन । भारतका विद्यालयमा अध्ययन गराउन आर्थिक अवस्थाले भ्याउँदैन ।

घरमै छोडेर भारत पसे, छोराछोरीको हेरचाह गर्ने मानिस हुँदैन । जसका कारण विद्यालय जाने उमेर समूहका बालबालिकासमेत भारतमै बुबाआमासँग मजदुरी गर्न बाध्य छन् । स्थानीय भने आफ्ना मर्का बुझ्ने सरकार नभएको गुनासो गर्छन् । अहिले केही व्यक्तिले मात्रै घर छोड्नुपरे पनि केही वर्ष वा समयपछि गाउँ नै खाली हुने वातावरण रहेको मदन सार्की बताउँछन् ।

‘घरमा ताला ठोकेर सबै परिवार भारत जानु बाध्यता छ भने अर्कोतर्फ भएका घरसमेत भत्किन थालेका छन्,’ उनी भन्छन्, ‘गाउँमुनि सडक खनिएको छ, सवारीसाधन ओहोरदोहोर हुँदा घरमा भएका भाँडाकुँडा थर्किन्छन्, पानी पर्नेबित्तिकै पहिरो गएर गाउँ नै बग्ने सम्भावना छ, यस विषयमा सरकारले र सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।’ खप्तडछान्ना गाउँपालिका–३ की वडाध्यक्ष गौरी अधिकारी भारतमा जानेको संख्या पालिकाभर धेरै रहेको बताउँछिन् ।

गाउँमा ताला लगाएर भारत जानुको मुख्य कारण भनेजस्तो जग्गा जमिन नहुनु र भएको जमिनबाट खान–लगाउन समस्या हुनु भएको उनले सुनाइन् । ‘सबै घरबाट एक–एक जना रोजगारीका लागि भारत गएका छन्, यस विषयमा वडा र पालिकाभन्दा पनि प्रदेश सरकार र संघीय सरकारले विशेष नीति ल्याएर काम गर्नुपर्ने जरुरी छ,’ वडाध्यक्ष अधिकारी भन्छिन् ।

यता, खप्तडछान्ना गाउँपालिका अध्यक्ष उत्तम रोकाया विदेशमा गएका स्थानीयलाई विभिन्न सीपमूलक तालिम दिएर गाउँघरमै केही गर्ने अवसर प्रदान गर्दै आएको बताउँछन् । विदेश जाने युवालाई रोक्न स्थानीय सरकारले मात्रै केही गर्न नसक्ने बताउँदै उनले प्रदेश र संघीय सरकारले पनि चासो दिन जरुरी रहेको औंल्याए । ‘धेरै घरपरिवार भारतमा रोजगारीका लागि गएका छन्,’ उनले भने, ‘उनीहरूलाई गाउँघरमै बस्ने वातावरण बनाउन स्थानीय सरकार लागिपरेको छ ।’ यस्तो समस्या खप्तडछान्ना गाउँपालिका–३ को मात्रै नभएर वडा नं. ४ माँझीगाउँ तथा सबै वडाको हो ।

समग्रमा यो जिल्लाभरकै समस्या बनेको छ । जिल्लाको विकट साईपाल गाउँपालिका, तलकोट गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिका, थलारा गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका, सुर्मा गाउँपालिका, केदारस्युँ गाउँपालिका, विथ्थडचिर गाउँपालिका र बुंगल नगरपालिकाबाट समेत हजारौंको संख्यामा भारत पलायन भएका छन् । कति संख्यामा बाहिरिए एकीन तथ्यांक कुनै पनि पालिकासँग छैन । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस