कात्तिक ३०, काठमाडौं । विश्वकप फुटबलको एसियाली छनोटमा नेपाल यूएईसँग ४–० ले पराजित भएको छ । बिहीबार यूएईको घरेलु मैदानमा भएको खेलमा नेपाल घरेलु टोलीसँग ४–० ले पराजित बनेको हो ।

छनोटको दोस्रो चरणको पहिलो खेलमा यूएईविरुद्ध खेलेको नेपालले चारै गोल पहिलो हाफमा ब्यहोरेको हाे । समूह ‘एच’ अन्तर्गतको उक्त खेल सुरु भएको ११ औँ मिनेटमै घरेलु टोली यूएईले गोल गरेको थियो । यूएईका लागि खलिफा अल हमादीले गोल गरेका थिए । दोस्रो गोल ३७ औँ मिनेटमा अली मबखोउतले पेनाल्टीमार्फत गरेका थिए । यूएईका लागि तेस्रो गोल ४४ औँ मिनेटमा अली मबखोउतले नै गरेका थिए । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा यूएईका लागि फाबियो लिमाले चौथो गोल थपेका थिए । दाेश्राे हाफमा नेपाल लयमा फर्किएपनि कुनै गाेल गर्न सकेन ।
अब नेपालले यमनविरुद्धको पहिलो लेग खेल मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्ने छ । नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ ।