कात्तिक ३०, काठमाडौं । अष्ट्रेलिया एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहीबार दोस्रो सेमिफाइलनमा साउथ अफ्रिकालाई ३ विकेटले हराउँदै अष्ट्रेलिया फाइनल प्रवेश गरेको हो ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २ सय १३ रनको लक्ष्य अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेटको क्षतिमा सफलतापूर्वक पछ्यायो ।
अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । उनले आक्रामक इनिङ्स खेल्दै ४८ बलमा नौ चौका र २ छक्का हिर्काए । अर्का ओपनर डेभिड वर्नरले पनि मात्र १८ बलमा २९ रन बनाए । उनले एक चौका र ४ छक्का हिर्काए । वर्नर आउट भएलगत्तै मिचेल मार्स शून्य रनमा आउट भएपछि अस्ट्रेलिया दबाबमा परेको थियो । त्यसपछि पूर्वकप्तान स्टिभ स्मीथले ३० रन बनाउँदै टोलीलाई केही राहत दिलाएका थिए । तर मार्नस लाम्बुसेन १८ रन र ग्लेन म्याक्सेवल मात्र १ रन बनाएर आउट भएपछि टोली पुनः दबाबमा पर्यो ।
तर विकेटकिपर जोस इंग्लिसले २८ रन बनाउँदै अस्ट्रेलियालाई जीतको नजिक पुर्याएए । त्यसपछि कप्तान प्याट कमिन्सले मिचेल स्टार्कसँग मिलेर टोलीलाई जीतसम्म डोर्याए । स्टार्कले नटआउट रहँदै १६ रन बनाए भने कमिन्सले १४ रनको योगदान दिए ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले १० ओभरमा १ मेडन राख्दै मात्र ३४ रन खर्चेर ३ विकेट लिए । कप्तान कमिन्सले पनि ९.४ ओभरमा ५१ रन खर्चिएर ३ विकेट लिए । जोस हेजलवुडले किफायती बलिङ गर्दै ८ ओभरमा ३ मेडन राख्दै २ विकेट लिए । त्यस्तै, ट्राभिस हेडले पनि २ विकेट लिए ।
