भदौ ३०, काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्री तोकिएको छ। शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य खड्काले सम्हाल्ने गरी तोकेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन शनिबारै बेलुका अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्। उनी त्यतैबाट चीन भ्रमणमा जाने कार्यक्रम छ।
प्रवक्ता शैलजा रेग्मी भट्टराईद्धारा जारी गरिएको भनिएको छ : सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल “प्रचण्ड”ज्यू संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन र तत्पश्चात जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणको शिलशिलामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सम्वत् २०८० साल भदौ ३० गते शनिबार त्यसतर्फ प्रस्थान गर्नु हुने भएकोले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा माननीय उपप्रधानमन्त्री एवं रक्षा मन्त्री श्री पूर्णबहादुर खड्काज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ।
