• २०८३ असार ८ गते सोमवार

खाँदबारी ४ सेकाहामा एक पुरुष मृत अवस्थामा फेला

खबर24नेपाल समाचारदाता पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका– ४ सेकाहामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। आइतबार बिहान सेकाहाको घट्टेखोलामा स्थानीय ६२ वर्षीय मोहनप्रसाद गुरुङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले बताए।

उनले शनिबार (हिजो) खेती रोपाइँ गरेर साँझमा घर फर्किने क्रममा लडेर घट्टेखोलामा परेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक खनालले बताए। घटनाबारे विस्तृत अनसुन्धान भइरहेको प्रहरीको भनाइ छ।

बर्खाको समयमा भएकाले सेकाहा क्षेत्रमा यतिवेला धमाधम खेती रोपाइँ भइरहेको छ। रोपाइँ सकेर साँझपख घरपरिवारका अन्य सदस्यहरूभन्दा अन्तिममा खेतबाट बाटो लागेको गुरुङ रातिसम्म नआएपछि बिहान खोजी भएको थियो। बिहान खोजी गर्दै जाँदा खेतभन्दा केहीमाथि बाटोमा खोलामा लडेर मृत अवस्थामा भेटिएपछि गाउँलेहरू भेला भई प्रहरीलाई खबर गरेका थिए।

मृतक गुरुङका श्रीमती, तीन छोरा र तीन छोरी छन्। अहिले मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याउँदै गरेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस