• २०८३ असोज ३० गते शुक्रवार

मनकामनामाताको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

आज वि.सं. २०७९ साल फाल्गुन ४ गते बिहीवार तदनुसार ई. सं. २०२३ फेब्रुवरी १६ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०६:४४ बजे र सूर्यास्त : साँझ ०५:५४ बजे, चन्द्रास्त : दिउँसो ०२:२२ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:२० बजे, फाल्गुन कृष्णपक्ष (सिल्लागा) एकादशी तिथि, बेलुका १०:४३ बजेसम्म, त्यसपछि द्वादशी तिथि, मूल नक्षत्र, बेलुका ०७:१० बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक कार्यमा प्रतिष्ठा र सम्मान मिल्ने तथा माङ्गलिक कर्मप्रति अभिरुचि जाग्ने राम्रो दिन छ । भ्रम, चिन्ता वा शङ्काको निवारण हुनेछ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । भाग्यले साथ दिने समय हो

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । अनुभव वा सीपको प्रयोग गरी आम्दानी बढाउन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । सुखद वातावरणमा सुखपूणर् र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । खेलवाड र मनोरञ्जनमा अलमलिएर सजिलै दिन बित्ने परिस्थिति छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ, पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्, तापनि चुनौती चिर्दै काम बनाउन सकिने छ । गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ । पार्टनरसँग दूरी बढ्दामात्र उसको महत्त्व कति छ भन्ने आभास हुने दिन हो।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जोखिम मोलेर काम गर्ने प्रवृत्तिलाई अङ्कुश लगाउनु होला । शत्रु र कुरा काट्नेहरू सक्रिय रहेको समय हो । आफ्नै कमजोरीले साख बिग्रन सक्छ । सानो प्रयत्नले हैसियतमा बृद्धि हुनेछ, क्षमता र बुद्धिको उपयोग गर्दा कारोबारले गति समात्न थाल्नेछ, साथै अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन् । जीवनसाथी र छोराछोरीका क्रियाकलापमा चिन्ता बढ्नेछ, नातागोताको के महत्त्व छ भन्ने बुझी आज नेटवर्किङ र सामाजिक सञ्जालमा पनि सक्रियता बढ्नसक्छ ।जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
हाँके/ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ । नयाँ ठाउँ, रमणीय वातावरण र नयाँ मित्रको सङ्गत र संसर्ग हुने समय हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । पतिबाट कुनै उपहार वा भौतिक उपकरण प्राप्त गर्नाले मन फुरुङ्ग हुनेछ । बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रयास गर्दा उपलब्धि पाउने दिन हो, उच्चशिक्षाका तथा अनुसन्धान गरिरहेका शिक्षार्थीका लागि राम्रो समय छ, तर स्कूले विद्यार्थीमा उच्छृङ्खलता बढ्न सक्छ । मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । आत्मविश्वासमा कमी आउनसक्छ, हरेक क्रियाकलापमा संयमता र हिम्मतको खाँचो हुनेछ । जुवा वा सट्टाबाजीमा धन लगानी गर्नु हानिकारक बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । उच्च महत्त्वाकाङ्क्षा कायम राखी अघि बढ्ने प्रयास गर्नुहोस्, जहाँ दृढ इच्छा र सबल मानसिकता हुन्छ, त्यहाँ दैवले पनि सघाउ पुर्याउने गर्दछ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो ।

Sharing

प्रतिक्रिया दिनुहोस