आज वि.सं. २०८० मङ्सिर २९ गते शुक्रवार तदनुसार ई. सं. २०२३ डिसेम्बर १५ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, चन्द्रोदय : बिहान ०८:१८ बजे र चन्द्रास्त : बेलुका ०६:४४ बजे, सूर्योदय : बिहान ०६:४८ बजे र सूर्यास्त : साँझ ०५:०९ बजे, मार्गशीर्ष शुक्लपक्ष (थिल्लाथ्व) तृतीया तिथि, मध्यरात्रीपछि ०१:०० बजेसम्म, त्यसपछि चतुर्थी तिथि, पूर्वाषाढा नक्षत्र, दिउँसो १०:४७ बजेसम्म, त्यसपछि उत्तराषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा, साँझ ०४:२९ बजेसम्म, त्यसपछि मकर राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु हात पर्नसक्छ, सँगीसाथी र सहयोगीहरूको साथ पाउनाले हिम्मत बढ्ने तथा प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुने समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
जीवनसाथी वा परिवारका सदस्यसँग ठास्सठुस्स र मतभेद बढ्ने समय हो । आज यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठीक हुन्छ । परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ । घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । दैनिक काममा जीवनसाथी र सन्तानको सहयोग जुट्नेछ, तर ससाना कुरामा पनि बहस र विवाद हुने दिन हो, सचेत हुनुपर्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भावुक र संवेदनशील बन्न सकिन्छ तर पनि बौद्धिक क्षमता वा सीप बढाउने प्रयत्न गर्नुपर्छ, जस्तै चुनौतीपूर्ण काम भए पनि सफलता मिल्नेछ, परीक्षा र प्रतिस्पर्द्धामा विजय प्राप्त हुने दिन हो । तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सँगीसाथी वा आत्मीयजनसित भेटघाट हुने वा सहकार्यमा कुनै काम सम्पन्न हुने समय छ, पारिवारिक माहौल र आर्थिक पक्षसमेत सुदृढ देखिन्छ । दार्शनिकता र चिन्तन प्रति झुकाव बढ्नेछ, कुनै समसामयिक विषयका बारेमा साथीहरूसँग छलफल गर्ने र गम्भीर भएर जानकारी बटुल्ने दिन हो ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । धनार्जनका दृष्टिले उत्तम समय देखिन्छ, हाकिम वा मान्यजनको विश्वासपात्र बन्न सकिने छ, घर परिवारबाट पनि सुखद समाचार प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक र परोपकारी काममा मन जानेछ । आज घरमा सम्पर्क गर्ने दिन हो, खासगरी दाजुभाइ र चेलीबेटीसँग सुमधुर सम्बन्ध कायम हुनेछ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
महत्त्वाकाङ्क्षी र आशावादी बन्नु सकारात्मक पक्ष हो, तर खेलवाड र मनोरञ्जनमा भुलिंदा वा कुनै लापरबाहीले भविष्यमा पछुतो मान्ने परिस्थिति बन्नसक्छ । परिबन्द वा बाध्यतामा धन खर्च हुने दिन हो, साथै मानप्रतिष्ठा र सम्मानमा पनि आघात पुग्नसक्छ । जोखिम र रिस्कमा कुनै काम नगर्नु होला, साथै जिम्मेवारीप्रति पनि हेलचक्र्याइँ गर्नु हुँदैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । दाजुभाइको सरसहयोगमा केही समय बिताउनुपर्ने हुन्छ, त्यस्तै परिवारजनको आवश्यकता वा छोराछोरीको उन्नतिप्रगतिका निमित्त पनि खट्नुपर्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आनन्द र रमझममा दिन बित्नेछ, तथापि आज भोगवृत्तिमा अङ्कुश लगाउँदा राम्रो हुन्छ, नत्र आनन्द प्राप्त गर्नुको सट्टा झमेला व्यहोर्नुपर्ने समय हो । लेखन÷प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो ।