• २०८३ जेष्ठ ७ गते बिहिवार

मनकामनामाताको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

आज वि.सं. २०७९ साल फाल्गुन २४ गते बुधवार तदनुसार ई. सं. २०२३ मार्च ०८ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०६:०७ बजे, चन्द्रास्त : सूर्योदयपूर्व ०६:४७ बजे र चन्द्रोदय : साँझ ०६:२९ बजे, चैत्र कृष्णपक्ष (चिल्लागा) प्रतिपदा/परेवा तिथि, बेलुका ०७:२९ बजेसम्म, त्यसपछि द्वितीया तिथि, उत्तराफाल्गुनी नक्षत्र, भोलि बिहान ०४:१३ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा सिंह राशिमा, बिहान ०८:५९ बजेसम्म, त्यसपछि कन्या राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कमजोरीलाई माध्यम बनाएर शत्रु हाबी हुने समय छ, विश्वासिलो साथी वा सहयोगी कर्मचारीले नै समस्या बल्झाउन सक्छन्, सचेत हुनुपर्छ । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । हुन त शत्रु र प्रतियोगीमाथि विजय प्राप्त गर्ने समय हो, तर रिस, आवेग र क्रोधको पारो छिट्टै चुलिन सक्छ, कन्ट्रोल गर्नुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन हो, कर्मप्रति समर्पित हुनुपर्छ, आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । पेसागत र व्यवसायिक परिस्थिति राम्रै देखिन्छ, तर आज घरपरिवारलाई पनि केही समय छुट्याउनु होला, नत्र आपसी विचार/विमर्शमा खाडल सिर्जना हुनेछ । इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
प्रतिद्वन्द्वीले हार खानेछन्, मित्रवर्ग र स्टाफको सहयोग मिल्नाले मन प्रसन्न रहनेछ, कार्यक्षेत्रमा पनि राम्रो गर्नसक्नाले प्रतिष्ठा र सम्मान बढ्ने दिन हो । कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । घरपरिवारभित्र कसैको पेसागत वा व्यवसायिक उन्नतिको समाचार सुन्न पाइने छ, त्यस्तै पारिवारिक जमघट वा भोजभतेरमा सहभागी बन्नुपर्ने दिन छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परीक्षा, प्रतियोगिता वा प्रतिस्पर्द्धामा विजय प्राप्त गर्ने दिन हो, मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । कठोर शब्द र खरो बोलीका कारण सेवाग्राही असन्तुष्ट र रुष्ट हुनसक्ने समय हो, तर सहकर्मी साथी र हाकिमको साथसहयोग मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
निणर्यात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ । चिताएका काम सम्पादन हुनेछन्, हाकिम वा जानकार व्यक्तिको सहयोग र सहानुभूति प्राप्त हुनेछ । सेवाग्राहीलाई प्रभावित पारेर सम्मान पाउने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आम्दानीमा उतारचढाव आउने दिन हो, सामान्य मानेको लापरवाहीले समेत दण्ड/जरिवानामा पर्न सकिन्छ, जतिसक्दो आफ्नो कारोबारमा ध्यानकेन्द्रित गरेको जाती हुन्छ । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कुनै पुरानो समस्यामा घोत्लिनुपर्ने तथा असमझदारी बढ्नाले कार्यक्षेत्र प्रभावित बन्नसक्ने दिन छ । तर पनि सहकर्मी र सिनियर्सको सहयोग पाउने दिन हो । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पर्द्धीहरू आफैं तर्किएर हिँड्नेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा ध्यान केन्द्रित हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने देखिन्छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धार्मिक/सांस्कृतिक काममा खटेर जस पाउने समय छ । सीप र बुद्धिकौशलको प्रयोग गरी मान्यजन र विशिष्ट व्यक्तिको सद्भाव बटुल्न सकिने छ । प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
चिन्ता/शङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ । वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । आजको दिन घरायसी र व्यावहारिक समस्याका बारेमा घोत्लिने समय छ, एक्लै बस्न र घोरिन मन लाग्छ, संयमित हुनु राम्रो हुन्छ । मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ ।

Sharing

प्रतिक्रिया दिनुहोस