• २०८३ असोज १४ गते बुधवार

भूपेन्द्र बडुवाल हत्या प्रकरण : मुख्य अभियुक्तले ६ महिनापछि गरे आत्मसमर्पण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २४, कैलाली। कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन् । गत वर्षको कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा बडुवालको धारिलो हतियार प्रहार गर्दै हत्या गरेर फरार भएका रावलले आइतबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले रावलले आइतबार दिउँसो जिल्ला अदालतमा आत्मसर्मण गरेको बताए । रावललाई अदालतले यसअघिकै फैसलाका आधारमा पुर्पक्षका लागि कारागार चलान गरेको छ । रावल बडुवालको हत्या भएकै दिनदेखि फरार थिए । उक्त प्रकरणमा जिल्ला अदालत कैलालीले गत वर्षको २४ मंसिरमा ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो भने तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

धरौटमा छाडिएका तीन जनालाई उच्च अदालतको आदेशपछि पुनः पक्राउ गरेर पुर्पक्षका लागि कारागार चलान गरेको थियो । रावलसहितका ८ जना फरारको सूचीमा थिए । रावलले अदालतमा आत्मसर्मपण गरेपनि अन्य ७ जना अझै फरार छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस