• २०८३ बैशाख २८ गते सोमवार

पशुपतीनाथको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ५ मिनेट

आज वि.सं. २०७९ फाल्गुन २२ गते सोमवार तदनुसार ई. सं. २०२३ मार्च ०६ तारिख, नल नामक संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०६:२७ बजे र सूर्यास्त : साँझ ०६:०६ बजे, चन्द्रोदय : साँझ ०५:०१ बजे र चन्द्रास्त : भोलि बिहान ०५:१५ बजे, फाल्गुन शुक्लपक्ष (चिल्लाथ्व) चतुर्दशी तिथि, साँझ ०४:२८ बजेसम्म, त्यसपछि पूर्णिमा मा तिथि, मघा नक्षत्र, मध्यरात्रीपछि १२:२५ बजेसम्म, त्यसपछि पूर्वाफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । बुद्धिकौशल अर्थात् ट्रिकको प्रयोग गरी सफलता कमाउने दिन हो, समस्यामूलक कुनै काम छन् भने सिनियर स्टाफको होइन, जुनियर साथीको सहयोग लिनुपर्छ । व्यक्तिगत खुसी, आनन्द र मौजमस्तीका निम्ति समय निस्कनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
वैचारिक अस्थिरता देखिने छ । प्रसन्नता प्राप्त गर्न धौधौ हुन्छ । वैचारिक र मानसिक सन्तुलन कायम राख्ने कोसिस गर्नुपर्छ । हाँके/ताकेको कुनै काम रोक्नुपर्ने हुन्छ । नयाँ लगानीका लागि उपयुक्त समय होइन, बरु वातावरण र परिस्थितिमा केन्द्रित हुनुपर्ने समय हो । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सकेसम्म समुचित कार्यका लागि कम बोलेको ठीक हुन्छ, तर बोल्न नपाए पनि हाउभाउ र सङ्केतका आधारमा काम निकाल्न सकिने छ । रचनात्मक स्वभावले मानिसहरूलाई प्रभावित गर्न सक्नुहुन्छ । असत्य बोल्ने जोसुकैलाई पनि कहिल्यै पनि विश्वास नगर्नुहोला, साथै आफूलाई विश्वास गर्ने व्यक्तिलाई कहिल्यै नढाँट्नुहोला । अठोट र निणर्यहरूमा सफलता मिल्नेछ । अचानक कुनै यात्राको योजना पनि बन्नसक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
जीवनसाथी र परिवारका सदस्यहरूको पूणर् सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । परिबन्द र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । सेवाग्राही वा सिनियरसँग कुनै पनि बहसमा नअलमलिनु होला, नत्र सामान्य मानेको कुराले नै पछि तनाव बढाउने खतरा देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
कामको चापबाट फुर्सद पाइने राम्रै दिन छ, तर सचेत हुनुहोला, गलत काम र दुर्जन व्यक्तिको विश्वासमा पर्दा इज्जतमा दाग लाग्नसक्छ । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । सबै कार्य सही ढंगले सम्पन्न भए पनि कतिपय काममा आफ्नै चित्त नबुझ्न सक्छ । तर पनि आज कुनै विशेष कार्यमा सफलता मिल्ने दिन हो ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । उच्चपदस्थ र महत्त्वपूणर् व्यक्तिहरूसित मित्रता हुनेछ, कुनै पुरस्कार वा सम्मान पाउन सक्नुहुन्छ अथवा कुनै दूरगामी योजनाको कार्यान्वयन गर्ने विषयमा छलफल हुनसक्छ । भेटघाटको समयमा व्यक्तिगत उन्नति/प्रगति वा पदप्रतिष्ठाको चर्चा नगर्नु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेबारी प्राप्त हुनेछ । वैकल्पिक आम्दानीका निमित्त कुनै नयाँ कारोबारप्रति आकर्षण देखाएमा समेत लाभ पाउन सकिने छ । पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । दानपुण्यप्रति आकर्षण बढ्ने तथा जनकल्याण र परोपकारको भावना विकसित हुने राम्रो दिन छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्ने समय हो, तर काम बाँकी राखी अल्छी गरेमा आफैंलाई लोड बढ्नेछ भनी होस राख्नुपर्छ । हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सधैंभन्दा बढी व्यस्त हुने समय हो, खटेअनुसार फाइदा हुनेछ, तर आजको केही समय जीवनसाथी वा छोराछोरीका लागि छुट्याउनु ठीक हुन्छ । आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ । भेटघाट र मिलनको समय हो, तथापि मानसिक उलझन र चिडचिडेपन बढ्ने दिन छ, त्यसैले बेकारका कुराकानी र ख्यालठट्टामा कन्ट्रोल गर्नुपर्छ । व्यक्तित्व विकासका निमित्त राम्रो अवसर प्राप्त हुनेछ । तोकिएको काम समयमै सम्पादन गर्न सकिने र थप आयआर्जनका लागि मन उत्सुक हुने समय छ ।

Sharing

प्रतिक्रिया दिनुहोस