जेठ २२, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास र बढ्दो प्रदूषण चुनौती बनेको बताएका छन् । सोमबार विश्व वातावरण दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्न दिवसले थप उत्साह प्रदान गर्ने बताएका छन् ।
उनले भनेको छन्,‘हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ । विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ।’ उनले विकासलाई वातावरणमैत्री बनाउनुपर्ने ताउँदै स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन आवश्यक रहेको बताएका छन् ।
विश्व वातावरण दिवस, (जुन ५) २०२३ को शुभकामना सन्देश
विश्व वातावरण दिवस (जुन ५) २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
संयुक्त राष्ट्रसंघको आह्वानमा पचास वर्ष अघिदेखि मनाउन थालिएको विश्व वातावरण दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको छ । यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं’ भन्ने राष्ट्रिय नाराका साथ विश्व वातावरण दिवस मनाइरहेका छौँ । आजको दिन हामी सबैले आफ्नो घर वरिपरि रहेको वातावरण सफा राख्दै वन, जल, वनस्पति, कृषि तथा जीवहरूको पर्यावरणीय सम्बन्धलाई जीवनमुखी बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्नुपर्दछ।
मानव जातिको महत्त्वाकाङ्क्षा बढ्दै जाँदा भएको प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविक विविधताको ह्रास साथै बढ्दो प्रदूषण आज चुनौती बनेको छ । यी चुनौतीबाट नेपाल पनि अछुतो छैन । हाम्रो हिमाली भेग, उच्च पहाड, चुरे र तराईका फाँटहरूसम्म जलवायु परिवर्तनको प्रतिकूल प्रभाव परेको छ । यसले वातावरणीय क्षेत्रमा समेत नकारात्मक प्रभाव पारेको छ । अर्को चुनौती भनेको विज्ञानको नविनतम विकासको उदाहरण स्वरुप उत्पादन भएको प्लाष्टिक पोलिमरको अव्यवस्थित र अवैज्ञानिक प्रयोगले सिर्जना गरेको प्लाष्टिकजन्य फोहोर वर्तमान समयको एक प्रमुख वातावरणीय चुनौती बन्न पुगेको छ ।
विकासलाई वातावरणमैत्री बनाउन आवश्यक छ । दिगो विकासको अवधारणाबमोजिम नै नेपाल सरकारले सञ्चालन गर्ने कुनै पनि विकास निर्माण कार्यबाट वातावरणमा पर्न सक्ने सम्भावित असरलाई अनिवार्य रुपमा सम्वोधन गर्नुपर्ने व्यवस्था वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले गरेको
छ । वातावरण संरक्षण तथा सुधारको लागि नेपालले अवलम्बन गरेको राष्ट्रिय स्तरका वन, वातावरण तथा जलवायु परिवर्तन नीतिहरूबाट निर्देशित विभिन्न कार्यक्रमहरूले वन तथा वातावरणको क्षेत्रमा उपलब्धि हासिल भएको छ ।
विश्वमा भैरहेको वातावरण विनाशको लागि हाम्रो योगदान नगण्य भएपनि वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिवद्धताहरूलाई कार्यान्वयन गर्न आजको दिनले थप उत्साह प्रदान गर्ने विश्वास लिएको छु ।
अन्तमा, वातावरणको संरक्षण तथा सम्वर्द्धनको गहन अभिभारामा संलग्न वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालय, प्रदेश तथा स्थानीय निकाय, सुरक्षा निकाय, विकास साझेदार एवं सबैलाई धन्यवाद दिँदै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।
जय नेपाल ।
२०८० जेठ २२ गते सोमबार ।

