कात्तिक १८, काठमाडौं। सरकारले भूकम्प प्रभावित जिल्लाका कर्मचारीहरुलाई तत्काल बिदा नबस्न निर्देशन दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायका तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित अन्य कर्मचारीहरुलाई तत्काल बिदामा नबस्न निर्देशन दिएको हो ।

‘‘भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरु बिदामा भएमा यथाशिघ्र आफ्नो कार्यालयमा हाजिर भई कामकाजमा खटिनुहुन र तत्काल बिदामा नरहन हुन समेत निर्देशन गरिएको छ ।’’ जारी विज्ञप्तिमा भनिएको छ ।
मन्त्रालयले भूकम्पमा परी मृत्य भएका व्यक्तिहरुको खोजी तथा पहिचान, घाइतेहरुको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षहरुको व्यवस्थापनमा खटिन प्रभावित जिल्लाका सबै स्थानीय निकाय एवम् स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीहरुलाई अनुरोध समेत गरेको छ ।
