• २०८३ बैशाख ६ गते आइतवार

नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी जेल चलान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । बिहीबार पक्राउ परेका उनी शुक्रबार जेल चलान भएका हुन् ।

२०६६ सालमा ट्याक्टरमा आगजनी गरेको मुद्दामा दोषी ठहर भएका उनलाई कैलाली जिल्ला अदालतले ६ महिना कैद र ८ लाख ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । सोही फैसला कार्यान्वयनका लागि प्रहरीले उनलाई बिहीबार बाँके कोहलपुरबाट पक्राउ गरेको थियो । शुक्रबार बिहान उनलाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको थियो ।

मुलुकी फौजदारी कार्यविधी संहिता ऐन, २०७४ को दफा १५५ मा ‘एक वर्षभन्दा कम कैद बापत रकम तिर्न सकिने’ व्यवस्था छ । तर चौधरीले त्यसका लागि कुनै निवेदन नदिएकाले कैदी पूर्जी दिएर कारागार पठाइएको अदालतका निमित्त श्रेस्तेदार राजेन्द्र जोशीले जानकारी दिए । उनले भने, ‘१५५ को सुविधा लागि उहाँले कारागारबाटै निवेदन दिन सक्नुहुन्छ, जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन पनि गर्न सक्नुहुन्छ ।’

अदालतबाट कैदी पुर्जी बुझेर उनी जेल चलान भएका हुन् । उनी कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस