चैत १५,काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बैंकिङ कसूर मुद्दामा एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । स्याङ्जाको आँधसखोला गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-२६ सामाखुसी बस्दै आएका ५२ वर्षीय काजी गुरूङलाई सोमबार पक्राउ गरेको हो ।
उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ६ दिन कैद सजाय र ४० लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । गुरूङले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको जानी(जानी एभरेष्ठ बैंकको चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो ।
सामाखुसीमा लुकिछपी बसिरहेको अवस्थामा गुरूङलाई पक्राउ गरी फैसला कार्यान्वयनाका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको सीआईबीले जनाएको छ ।