• २०८३ बैशाख ७ गते सोमवार

पशुपतीनाथको दर्शन गरि आजको दिनको सुरुवात गर्नुहोस

खबर२४ नेपाल पढ्न लाग्ने समय : ६ मिनेट

वि.सं. २०७९ मङ्सिर १२ गते सोमवार तदनुसार ई. सं. २०२२ नोभेम्बर २८ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०६:३६ बजे र सूर्यास्त : साँझ ०५:०७ बजे, चन्द्रोदय : बिहान ०९:४४ बजे र चन्द्रास्त : बेलुका ०८:४६ बजे, मार्गशीर्ष शुक्लपक्ष (थिल्लाथ्व) पञ्चमी तिथि, बेलुका ०६:१४ बजेसम्म, त्यसपछि षष्ठी तिथि, उत्तराषाढा नक्षत्र, दिउँसो ०३:३१ बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न अनुकूल समय छ । कुनै कुरामा दुविधा भएमा घरपरिवारका बृद्ध सदस्यहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । व्यवसायिक कामको चाप बढ्नसक्छ अथवा कुनै कामका लागि टाढा जानुपर्ने बाध्यता हुनेछ, यद्यपि एकआपसमा अपेक्षित माया एवं समझदारी कायम रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यक्तित्व विकास हुने वा सफलता र सम्मान प्राप्त गर्ने समय हो, मान्यजन वा सिनियर्सको सद्भाव लिन सकेमा भविष्य सुन्दर बन्ने सङ्केत छ । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
वातावरण तपाईंको विपक्षमा भएको दिन हो, आफ्नो कर्तव्य र दायित्वप्रति सचेत भई पठनपाठनमा अझ लगाव देखाउनु ठीक हुन्छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला । स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ, यस अवसरमा मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु होला । निरङ्कुश बानी र कडापन तपाईंका कमजोरी बन्न सक्छन् । खानपान र आहारविहारको अनुशासन पालना गरेको जाती हुन्छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घमण्ड र क्रोधमा बृद्धि हुनसक्छ, तर पनि व्यक्तिगत कार्य र पारिवारिक जिम्मेबारीका बीच तालमेल मिलाउन सकेमा विवाद एवं अपजसबाट बच्न सकिन्छ । निराशा र कुण्ठा बढ्ने समय हो, नबुझेको कुनै कुरा छ भने एकान्तमा बसेर दोहोर्याएर प्रयत्न गर्नुपर्छ, नयाँ बाटो पहिल्याउन सकिन्छ । शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । आराम गर्ने फुर्सद पाइँदैन, शरीर अस्वस्थ भए पनि घरायसी बन्दोबस्तीका लागि खट्नैपर्ने परिस्थिति छ, तर घरपरिवारका सदस्यको सहयोग जुटाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नयाँ योजना प्रारम्भ गर्न उत्तम समय छ, प्रयास गरेमा कार्यप्रणालीमा सकारात्मक परिवर्तन हुनेछ । सामाजिकता र सामूहिक क्रियाकलापमा दिलचस्पी बढ्नाले पुराना साथीभाइ वा दौंतरीको काममा समेत दौडधूप गर्न सकिन्छ । कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । साथीसंगीसित रमाइलो भेटघाट हुनेछ, एकआपसका गुनासा सुन्ने दिन हो, देखिएका चुनौती पन्छाएर पनि परिस्थिति अनुकूल बनाउन सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अतिरिक्त धन प्राप्त हुनाले सोख पूरा गर्न सकिने छ । नयाँ जिम्मेबारी प्राप्त हुनुका साथै प्रतीक्षित नतिजाले उत्साह बढाउने समय हो । व्यक्तिगत खुसीका लागि कुनै कुरामा खर्च बढ्ने समय हो, आर्थिक पक्ष कमजोर भएमा पार्टनरको सहायता लिन सकिने छ । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध/सम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
उधारोमा गएको धन वा ऋणकारोबार मुख्य विषय बन्नसक्छ, यद्यपि चिकित्सा क्षेत्र, औषधी, काष्ठ, फर्निचर आदि कारोबार छ भने प्रशस्त लाभ पाउन सक्नुहुन्छ । जीवनसाथी र परिवारका सदस्यहरूको पूणर् सहयोग रहने दिन छ । तर तपाईंको हठ र जिद गर्ने बानी छ भने समस्या निम्तिनसक्ने समय हो । नयाँ कुरा पढ्ने वा सिक्ने रहर जागेर आउने छ । नजानेको विषयवस्तुप्रति केन्द्रित हुन सकेमा उपलब्धि लिन सक्नुहुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दौडधूप गर्नुपर्ने काम, ढुवानी/यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ । अल्छीपना देखिन्छ, शरीर भारी भएकाले कुनै पनि काम पूरा नहुन सक्छन्, मानसिक शान्ति र विश्रामप्रति आकर्षित बन्दा राम्रो हुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
वरिपरि शत्रुको चंगुल हुनसक्छ, तर मिहिनेत र कर्मको सुनिश्चित सफलता प्राप्तिको समय हो, अरुका कुरामा नभुलिनु होला । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला, धैर्य र संयमता आजका मित्र हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस