चैत १४, काठमाडौं । २०७२ सालको गोरखा भूकम्पपछि चार वर्षसम्म चीनको खासा बजार जोड्ने तातोपानी नाका प्रभावित रह्यो । २०७६ साल जेठमा व्यापारिक रूपमा नाका खुल्न थाले पनि कोरोनाका कारण चैतदेखि बन्द उक्त नाका हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन ।
नेपाल–चीनको मुख्य व्यापारिक नाका लामो समयदेखि ठप्प हुँदा नेपाल पक्षले खुलाउन पटक पटक आग्रह गर्दै आएको छ । कोभिडका कारण देखाएर चिनियाँ पक्षले नाका खुलाउन अनिच्छा दोहो¥याउँदै आएको छ । तातोपानी नाका मात्र नभएर कोभिडको कारण देखाउँदै रसुवागढी नाका समेत खुलाउन चाहेको छैन । कोभिडपछि नेपालमा चीनबाट नै चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेतृत्वमा उच्चस्तरको भ्रमण भएको छ ।
भ्रमणमा तातोपानी तथा रसुवागढी नाका खुलाउने विषयले समेत प्रवेश पाएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले अध्यक्ष र विदेशमन्त्री यीबीच भेटमा नाका बन्द हुँदा नेपाल पक्षले भोग्नुपरेको समस्याका विषयमा कुरा उठान गरिएको र यीले रसुवागढी र तातोपानी नाका खोल्न चीन सकारात्मक रहेको बताएको जनाएका छन् । ‘विदेशमन्त्री वाङले रसुवागढी र तातोपानी नाका खोल्न हामी सकारात्मक छौं भन्नुभयो,’ प्रचण्डसँगको भेटमा सँगै रहेका मल्लले भने, ‘कोरोनाका कारण नाका खोल्न समस्या भएको हो । अन्य नाकाको विस्तारका लागि पनि सकारात्मक रहेको जानकारी गराउनुभएको छ ।’ चिनियाँ वाणिज्य सहायकमन्त्री शेंग क्युपिङले पनि नेपालसँगको नाका खुलाउने बताएका छन् ।
नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय प्रतिनिधि मण्डलका सदस्य क्युपिङ र नेपालका वाणिज्य सचिव गणेश पाण्डेय नेतृत्वको वार्तामा पनि क्युपिङले नाका सहज गराउने आश्वासन दिएका हुन् । सहायकमन्त्री क्युपिङले कोभिड–१९ का कारण तातोपानी र रसुवागढी नाका प्रभावित भएको बताउँदै हाल चीनमा समेत प्रकोप कम हुँदै गएकाले छिट्टै सीमा नाकाबाट सहज आयात र निर्यात हुने विश्वास व्यक्त गरेका हुन् । नेपाली पक्षले लामो समय नाकामा अवरोध हुँदा नेपालले समस्या बेहोर्नुपरेको बताएका थिए ।
कोभिड अगाडि नाकाबाट बर्सेनि १५ हजारभन्दा बढी पर्यटक नेपाल–चीन आउने जाने गरेको जनाइन्छ । उक्त नाकाबाट बर्सेनि २० अर्बको आयात र ३ अर्बको बढीको निर्यात हुने गरेको व्यवसयी बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।