फागुन १६, बाँके । नेकपा एमालेका सांसद मोहन बानियाँ जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डीएसपी मधुसुदन न्यौपानेका अनुसार सांसद बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएकाे हाे ।

जुम्लाका एक महिलाले बाँकेस्थित होटल अप्सरामा सांसद बानियाँले जबरजस्ती करणी गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। डीएसपी न्यौपानेका अनुसार उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ।
पीडित महिलाले पूर्वमन्त्रीसमेत रहेका बानियाँले पैसा दिन्छु भनेर होटेलमा बोलाएर जबरजस्ती करणी गरेको जोहेरीमा उल्लेख छ।