असार १३, सिरहा । सिरहाकी एक महिलालाई बोक्सीको आरोप लगाएर मलमूत्र खुवाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । सिरहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीका अनुसार भगवानपुर गाउँपालिका–४ ठाडी टोल बस्ने ६० बर्षीया आतिका देवी कामैतलाई बोक्सीको आरोपमा मलमूत्र खुवाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सोही ठाउँकी ३० बर्षीया फुलोदेवी साह र ५५ बर्षीया कोशिला साह छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी बोक्सी आरोप कसूरमा मुद्दा दर्ता गरी अन्य अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यी दुबैले ११ असारको दिउँसो १२ः३० बजेतिर कामैतलाई मलमूत्र खुवाएका थिए ।