चैत १३, काठमाडाैं । नवलपरासी (पूर्व) देवचुली नगरपालिका-१६ सिर्जना चोकबाट करिब ६ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६३ वर्षीया सोम माया नेपाली र ४५ वर्षीया मनकला सार्की रहेका छन् ।
सोम माया नेपालीको घरमा अवैध रुपमा लागूऔषध लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै प्रहरीले कपिलवस्तु नगरपालिका-११ जहदीस्थित सडकबाट करिब ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित रुपन्देही सैनामैना नगरपालिका-८ बस्ने २८ वर्षीय नारायण गाहा मगरलाई शनिबार दिउँसो पक्राउ गरेको छ । लु.१२ प ४७४६ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट जहदीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरि प्रहरीले घोराही उपमहानगरपालिका-१४ नयाँ बजारबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-१४ बस्ने १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । रा.३ प ३८५० नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।