माघ १३,सोलुखुम्बु।सोलुखुम्बु निर्माणधीन ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोसी जलविद्युत आयोजनाको सुरुङ मार्गमा दुर्घटना हुँदा एक मदजुर बेपत्ता भएका छन्। बिहीबार बिहान थुलुङ दुधकोशी गाउँपालिका-३ पञ्चन क्षेत्रको सुरुङमार्गमा जाने क्रममा बकेट चुँडिदा १ जना मजदुर हराइरहेको र १ जनालाई घाइते अवस्थामा उद्वार गरिएको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा बारा जिल्ला कोलभी नगरपालिका- १ का २४ वर्षीय राकेश चौधरी रहेको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका ४ का २० वर्षीय अंगत राय थारुको उद्वार गरि उपचारका लागि एम्बुलेन्समार्फत मिसन अस्पताल ओखलढुंगा पठाइएको छ।बिहीबार करिब ४र५ बजेको समयमा सुरुङभित्र पेनस्टक पाइप विछ्याउन जानेक्रममा सामाग्रीसहित चार जना मजदुर चढेको बकेट बीचमा पुगेर चुँडिएको प्रहरीले जनाएको छ। घटनामा अन्य २ जनाको अवस्था भने सामान्य रहेको प्रहरी निरीक्षक ढकालले बताए। हराइरहेका चौधरीको खोजी कार्यजारी रहेपनि अन्य निर्माण सामाग्रीहरुका कारण समस्या भइरहेको प्रहरीले जनाएको छ। सुरुङ मार्गभित्र मानिसका साथै निर्माण सामाग्रीहरु ढुवानीका लागि मेसिनद्वारा सञ्चालन हुने बकेट प्रयोग गर्ने गरिएको आयोजनाले जनाएको छ।