माघ ११, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै राष्ट्रिय युवा संघ नेपालले भोलिदेखि खुला रक्तदान कार्यक्रम गर्ने भएको छ । अध्यक्ष ओलीको स्वास्थ्य लाभको कामनासँगै कोभिड १९ बाट सिर्जित रक्त अभावलाई ध्यानमा राख्दै खुला रक्तदान कार्यक्रम राखिएको राष्ट्रिय युवा संघका प्रचार विभाग प्रमुख महाराज गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार भोलि (बुधबार) दिनको २ बजे ओली निवास नजिकै बालकोटमा खुला रक्तदान कार्यक्रम राखिएको छ। सप्ताहव्यापी रक्तदान कार्यक्रमको युवा फाँटका इञ्चार्ज तथा पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा हुनेछ ।
राष्ट्रिय युवा संघ नेपाल काठमाडौंले पनि शनिवार विहान ८ बजे चावहिलमा खुल्ला रक्तदान कार्यक्रम गर्ने संघका काठमाडौं संयोजक सन्तोष अर्यालले जानकारी दिनुभयो ।
कोरोनाका कारण रक्त सञ्चार केन्द्रहरुमा रगतको अभाव देखिएपछि राष्ट्रिय युवा संघले रक्तदान कार्यक्रम अघि सारेको हो ।