माघ ११,काठमाडौँ । साताको कारोबारको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेप्से परिसूचकमा सामान्य अंकले गिरावट आएको छ।सोमबार करिब १०० अंकले गिरावट आएको नेप्से परिसूचक आज ५.५९ अंक घटेर २ हजार ८१५.०६ विन्दुमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार,मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता शेयर ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँ बराबरको कोरोबार भएको छ । मंगलबार नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।आज नेप्सेका १३ उपसमूहमध्ये १२ वटा उपसमूहको परिसूचक गिरावट आएको छ । जसमा जीवन बीमा उपसमूहको परिसूचक मात्रै ०.४४ प्रतिशत बढेको छ ।
यसबाहेक अन्य सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचकमा गिरावट आए पनि नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर कृषि विकास बैंकको ऋणपत्र, गोर्खाज फाइनान्सको शेयरमूल्य घटेको छ। कारोबार रकमका आधारमा २७ करोड बराबरको शेयर कारोबार गरेर एशियन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । त्यस्तै अपी पावर कम्पनको पनि करिब २३ करोड बराबरको शेयर खरिदबिक्री भएको छ ।