वि.सं. २०७९ कार्तिक ०६ गते आइतवार तदनुसार ई. सं. २०२२ अक्टोबर २३ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०६:०९ बजे र सूर्यास्त : साँझ ०५:२६ बजे. कार्तिक कृष्णपक्ष (कौलागा) त्रयोदशी तिथि, साँझ ०५:०४ बजेसम्म, त्यसपछि चतुर्दशी तिथि, उत्तराफाल्गुनी नक्षत्र, दिउँसो ०२:४१ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा कन्या राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परीक्षा वा प्रतिस्पर्द्धामा सफल भइने छ, तर आज आवेग, रिस र घमण्डमाथि नियन्त्रण गर्नुपर्छ । कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ । दैनिक कामहरू सजिलै सम्पन्न हुनेछन्, होचोहेला गर्ने र कुरा काट्नेहरू आफै चुप लाग्नेछन्, तथापि झगडा र कलहबाट टाढिएको जाती हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । अनुयायी, जुनियर स्टाफ र सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बनाउन सकिने तथा नयाँ काम सुरु गर्ने समय हो । उद्यमी र लगनशील व्यक्तिले अझ धेरै फाइदा बटुल्नेछन् । बुद्धिले भाउ पाउने समय हो, लेखन, कला वा संगीतजस्ता अतिरिक्त क्रियाकलापमा रुचि राख्नुहुन्छ भने आज सहकर्मीका माझमा प्रतिष्ठित बन्न पाइने छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो । व्यवसाय वा नोकरीको सन्दर्भमा कतै भ्रमणको कार्यक्रम बन्नसक्छ । घरमा सम्पर्क राखी चलिरहेको परिस्थितिका बारेमा अपडेट हुनुपर्छ । घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ । नजानेको वा नसुल्झिएको विषयवस्तुमा सहपाठीको सहयोग लिनुहोला, किनकि जब तपाईंको उद्देश्य सुदृढ हुन्छ, कडा परिश्रम विकल्प होइन आवश्यकता बन्ने गर्दछ । परिश्रमको प्रतिफल पाउने समय हो, यसबाट तपाईंको शक्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्, कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सक्नुहुन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धन बढाउन गरिएको प्रयास सफल हुनेछ वा ऋण उठाउने वा फँसेको धन उकास्ने समय छ । मुखका माध्यमबाट पनि कुनै अवसर फुत्काउन सक्नुहुन्छ । एकआपसमा भेटघाट हुने र रमाउने वेला छ, तर बोल्दा निकै विचार पुर्याउनु होला, नत्र ससाना कुरामा पनि नोकझोक बढ्न सक्छ । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले आज खासै लाभ मिल्ने समय छैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना हुने राम्रो समय छ, आज थप आयस्रोत कसरी बढ्छ भनी चिन्तन गर्ने समय हो । परिवारमा सुखसुविधाको जोहो गर्ने समय हो, फुटकर सामाग्रीका विक्रेता र खाद्यसामाग्रीको कारोबार छ भने अझ राम्रो गर्न सकिने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला, बरु मन स्थिर छैन भने एकछिन आराम गरेर फेरि पठनपाठनमा जुट्नु ठीक हुनेछ । कामधाममा भन्दा पनि कल्पना र भावनामा केन्द्रित भइने छ । घरपरिवार वा छरछिमेकीका सानातिना जिम्मेबारी बोक्नुपर्ने हुन्छ, बढी खर्च हुने परिस्थिति छ, त्यसैले आर्थिक कारोबारमा सतर्कता अपनाउनु पर्छ । बाध्यात्मक काममा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । समयमा काम गर्न नसक्दा विशेष अवसर फुत्कन सक्छ । आर्थिक सङ्कटले पनि तनाव बढ्नसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
बौद्धिक क्षेत्रमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । भाइबहिनी वा छोराछोरीका लागि व्ययभार बढ्ने दिन हो । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो । क्यारियरको सोच पलाउने समय छ, कला, वाणिज्य, व्यवस्थापन र शिक्षाशास्त्रका उच्च तहका विद्यार्थीले कुनै अवसरसमेत पाउन सक्नुहुन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । आम्दानीको मार्गमा बढोत्तरी हुनाले जीवनमा नयाँ आयाम थपिने दिन हो । विदेशी परियोजनामा काम गरेमा सुसुप्त चाहनालाई जीवन्त तुल्याउन सकिने छ । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निणर्य गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । मानसिक संवेगको उतारचढावले लक्ष्यप्रति ध्यानकेन्द्रित नहुने समय छ, आज कार्यक्षेत्रको बोझ घरमा लिएर जानु हुँदैन । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ, तर आज त्यस्तो दिन हो, जसमा मनको कुरो मनैमा रहन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ । सुखद वातावरणमा सुखपूणर् र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ ।