• २०८३ जेष्ठ १९ गते मङ्गलवार

एमालेको रौतहट जिल्ला पदाधिकारीद्वारा पदभार ग्रहण

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ९, रौतहट । नेकपा एमाले रौतहटका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । आइतबार रौहतटको सदरमुकाम गौरमा अवस्थित पार्टी कार्यालयमा पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् ।

यहीँ माघ २ गते कटहरिया सम्पन्न सो पार्टीको नवौँ जिल्ला अधिवेशनबाट सर्वसहमत रुपमा चुनिएका पदाधिकारीहरुले पदभार ग्रहण गरेको जिल्ला अध्यक्ष त्रिभुवन साहले जानकारी दिनुभयो ।

पदभार ग्रहण गर्दै अध्यक्ष साहले अब आफुहरु नेकपा एमालेलाई रौतहट जिल्लामा एक नम्बरको पार्टी बनाउन एकजुट भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँ, नगर प्रदेश अनि देशको विकास नेकपा एमालेले मात्र गर्न सक्ने जनाउँदै नेकपा एमालेलाई अब हुने तिनै तहको निर्वाचनमा रौतहटमा पहिलो पार्टी बनाउने लक्ष्य सहित आफुहरुले काम गर्ने बताउनुभयो ।

जिल्ला सचिव बाल बिक्रम कार्कीले अहिलेको जिल्ला कमिटिमा युवा र अनुभवीको समिश्रण भएकाले पार्टी नेतृत्व पंक्ति र कार्यकर्ताको चाहना बमोजिम काम गर्दै पार्टीलाई सफल बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले समग्र पार्टी पंक्तीलाई एकजुट बनाएर लैजाने भन्दै ठोस कार्ययोजना बनाएर पार्टीलाई जिल्लामा सफलता दिलाउने जनाउनुभयो ।

कार्यक्रममा नेकपा एमालेका नेताहरु अब्दुल कलाम आजाद, जयचन्द पटेल, राम किशोर साह, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना साह, कटहरिया नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाह, पवन पटेल, निवेश यादवलगायतको उपस्थिति रहेको थियो ।

नवौँ जिल्ला अधिवेशनले साहको अध्यक्षतामा १ सय ३५ सदस्य जिल्ला कमिटिको सर्वसहमत चयन गरेको थियो । कमिटिको उपाध्यक्षमा दिपक यादव, सचिवमा बाल बिक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल रहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस