• २०८३ जेष्ठ २३ गते शनिवार

रारामा एक वर्षमा १० हजार पर्यटक

पढ्न लाग्ने समय : २ मिनेट

असार ८ ,मुगु। जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा १० हजार पर्यटकले घुमफिर गरेका छन् । गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली पर्यटक १० हजार र विदेशी ८२ जनाले रारा अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । कोरोना महामारीले शिथिल बनेको रारा महामारी घटेपछि एक वर्षमा रारा घुम्ने आन्तरिक पर्यटकको संख्या १० हजार नाघेको हो ।\

पोखरा, काठमाडौं, विराटनगर, चितवन, पाल्पा, भक्तपुर, भैरहवालगायत जिल्लाका आन्तरिक पर्यटकले रारा भ्रमण गरेका छन् भने बेलायत र अमेरिका लगायतका मुलुकका बाह्य पर्यटक रारा अवलोकन गर्न आएका छन् । अमेरिका, अस्ट्रेलिया र बेलायतका राजदूतसहित प्रदेश तथा संघीय मन्त्रालयका सचिव उपसचिव विदेशी कूटनीतिक नियोगका कर्मचारी गैरसरकारी संस्थाका कर्मचारी पनि यो वर्षमा रारा भ्रमण गरेका छन् ।

अधिकांश आन्तरिक पर्यटक स्थलमार्ग र केही हवाईमार्गबाट रारा घुम्न आएको निकुञ्ज अधिकृत दाहालले बताए । विदेशी पर्यटक भने जहाजबाटै रारा आएको उनले बताए । उनले भने अझै दसैं–तिहारमा रारा घुम्न आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।

रारामा पर्यटकीय सुविधायुक्त होटेल अभावका कारण घुम्न आएका पर्यटकलाई गाँसबासको समस्या झेल्नु परेको छ । अर्कोतिर मुगुमा भरपर्दो हवाई सेवा नहुँदा पर्यटकलाई इच्छा अनुसार आउजाउ गर्न कठिन हुने गरेको छ । रारा जोडने गमगढी नाग्मा सडक पक्की नहुँदा पर्यटक सास्ती हुने गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस