• २०८३ बैशाख ५ गते शनिवार

सरकारमा हामीलाई हैसियतअनुसारको सहभागिता चाहिन्छ : प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

चैत ८, धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद हेरफेर भएमा आफ्नो पार्टीलाई हैसियत अनुसारको सहभागिता चाहिने बताएका छन् । मंगलबार माओवादी केन्द्रको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले जनकपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पार्टीको हैसियत अनुसार मन्त्रिपरिषदमा भाग चाहिने बताए । यसबारे आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनिसकेको उनको भनाइ थियो ।

उनले मन्त्रीमण्डल हेरफेरको सम्भावना रहेको भन्दै प्रधानमन्त्री देउवासँग पार्टीको हैसियत अनुसार भाग मागेको स्पष्ट पारे । यस विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक रहेको उनको भनाइ थियो । उनले भने, ‘मन्त्रिपरिषद्मा हेरफेरको कुरा चले पनि अहिलेसम्म औपचारिक रुपमा भने टुङ्गिएको छैन । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना पनि उत्तिकै छ’, उनले भने, ‘मैले प्रधानमन्त्रीजीसँग भनेको पनि छु । गठबन्धनमा सबैभन्दा बढी त्याग माओवादी केन्द्रले गरेको छ ।’

माओवादी केन्द्रले मन्त्रिपरिषद गठनको समयमा त्याग गरेको उनको भनाइ थियो । ‘प्रधानमन्त्रीजीले हाम्रो महाधिवेशनसम्मलाई सहयोग गर्नुस् भनेर भन्नु भएको थियो । हामीले पाउनुपर्ने जति मन्त्रालय पाएका छैनौं । माधवजीले पनि मेरो पार्टी नयाँ छ, धेरै दुःख छ, सहयोग गर्नु भन्नुभएको थियो । अहिलेसम्म सबैलाई सहयोग गर्ने सबै काम माओवादी केन्द्रले गर्दै आएको छ ।

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न माओवादी केन्द्रलाई आवश्यक नरहेको दाबी गर्दै उनले गठबन्धन हुने या नहुने भन्ने विषय काँग्रेसमाथि भरपर्ने प्रस्ट पारे ।माओवादीप्रतिको जनलहर व्यापक चलेकाले माओवादीलाई गठबन्धनले खासै अर्थ नराख्ने पनि उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस