• २०८३ असार ७ गते आइतवार

माधव–प्रचण्डको ‘एउटा दुईवटा हैन, चारवटा’ मुख छ : पूर्वमन्त्री बस्नेत

खबर२४ नेपाल पढ्न लाग्ने समय : ४ मिनेट

चैत ५, धनकुटा। नेकपा एमालेको पोलिटव्यरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको एक दुई वटा मुख नभई चारवटा मुख भएको बताउनुभएको छ ।


आज राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी धनकुटाद्वारा आयोजित राष्ट्रिय युवा संघ नेपाल, धनकुटाको बृहत् युवा भेला तथा पुनर्गठन कार्यक्रममा बोल्दै नेता बस्नेतले प्रचण्ड र माधवले चीन तिर फर्केर एउटा बोल्ने, अमेरिका तिर फर्केर अर्कै बोल्ने, वालुवाटारको कुर्सीमा बसेर अर्कै बोल्ने र सडकमा आफ्ना कार्यकर्तालाई अर्कै बोलेर ढुङ्गा हान्न लगाई जनताको बिचमा चारमुखे व्यवहार देखाएको बताउनुभयो । प्रचण्ड तथा माधवले गल्ती आफु गर्ने अनि त्यसको दोष एमालेलाई दिने प्रयास गरिरहेको प्रति आक्रोस व्यक्त गर्दै संघका इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले एमालेले कारवाही गरेका १४ जना सांसदलाई अदालतले विभिन्न वहानामा बचाउने षड्यन्त्र गरिरहेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘माधव र प्रचण्डको एउटा दुई वटा मात्र हैन, चारवटा मुख छ । चाइना तिर फर्केर एउटा बोल्ने, अमेरिका तिर फर्केर अर्कै बोल्ने, सडकतिर आफ्ना कार्यकर्तालाई ढुङ्गा हान्न लगाउनुहुन्छ । अनि वालुवाटारको कुर्सीमा गएर एमसीसी पास गर्नुहुन्छ । उहाँहरुले काँक्रा चोरेर आफुले खानुहुन्छ अनि विया चाँही एमालेको निधारमा टास्ने प्रयास गर्नुहुन्छ ।’

एमालेको नेतृत्वमा भएको सरकारले गरेको संवैधानिक नियुक्तिलाई सेटिङको माध्यमबाट सर्वोच्चले उल्ट्याउने षड्यन्त्र भइरहेको दावी गर्दै नेता बस्नेतले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्यमध्ये एक भए पार्टी विभाजन गर्न पाउने षड्यन्त्रकारी अध्यादेश ल्याएर एमाले फुटाएको र एमाले फुटेपछि पुनः सरकारले उक्त अध्यादेश फिर्ता लिएको भन्दै गठबन्धन सरकारप्रति कडा आक्रोस जनाउनुभयो । उक्त अध्यादेशले नै गर्दा माओवादी, एस पार्टी तथा जनता समाजवादी पार्टी एमसीसीले गर्दा फुट्न सक्ने आंकलन गरी उक्त समयमा नै अध्यादेश फिर्ता लिएको दावी गर्नुभयो ।

सिके राउत तथा विप्लव जस्ता समूहलाई राज्यको मुलधारमा ल्याउनु केपी ओलीको ऐतिहासिक सफलता भएको उल्लेख गर्दै उहााले विप्लवले निर्वाचनमा समेत भाग लिने निर्णय गरेकोमा स्वागत गर्नुभयो । विप्लव नेतृत्वको पार्टी निर्वाचनमा भाग लिने निर्णय गरेसँगै विभिन्न वहानामा सरकारले स्थानीय तहको निर्वाचन सार्ने खेलमा लागेको आरोप लगाउँदै उहाँले निर्वाचन रोक्ने प्रयास गरे एमालेले मुलुकभर आन्दोलनको आँधिवेरी ल्याउने समेत चेतावनी दिनुभयो । त्यसको लागि देभरका युवा विद्यार्थी तथा एमालेका कार्यकर्तालाई तयारी अवस्थामा रहन समेत निर्देशन दिनुभयो ।

नयाँ दललाई सहभागि गराउने बहानामा निर्वाचन सार्न नहुने तर्क गर्दै उहााले निर्वाचनमा प्रयोग हुने कलर एउटा पार्टीलाई टल्कने प्रयास नगर्न निर्वाचन आयोगलाई सचेत गराउनुभयो । स्थानीय तहका जनप्रतिनिधिहरुलाई पुनः निर्वाचित हुन राजिनामा लेख्न लगाउने खेल नखेल्न आयोगलाई आग्रह गर्दै स्थानीय तहको निर्वाचनको लागि आयोगले बनाएको आचार संहिताबाट सच्याओस् सुझाव दिनुभयो ।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले न्यायापालिका, कार्यपालिका र व्यवस्थिापिका तीनवटैलाई ध्वस्त बनाएको उल्लेख गर्दै उहाँले सभामुख अग्नी सापकोटाले पार्टी अनुसार फरक ढंगले सदन चलाएको भन्दै आक्रोस जनाउनुभयो । मर्यादा पालक राखेर विश्वमा कही नभएको जात्रा गरी सदन सञ्चालन गरिरहेको उल्लेख गर्दै उहाँले सभामुख सापकोटा नेपाली राजनीतिको गुरिल्ला सभामुख भएको इतिहास दर्ज गरेको बताउनुभयो ।

वर्तमान सरकार बनेसँगै जनताले बैंकमा राखेको पैसा समेत झिक्न नपाउने अवस्था बनेको उल्लेख गर्दै उहाँले वर्तमान सरकार आएसँगै नेपालको आर्थिक अवस्था ध्वस्त भएको भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हप्तै पिच्छे पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरी जनताको ढाड सेक्ने कार्य गरिरहेको छ । दिन दिनै सवै कुराहरुमा मंहगी बढिरहेको छ । सरकार कानमा तेल हालेर सुतिरहेको छ । कर उठाउन सकेको छैन, राजश्व उठाउन सकेको छ्रैन, अनियमिता गरी कर उठाउने गरेको छ ।’

एमालेले आगामी निर्वाचनमा माओवादी र एस सँग सहकार्य गर्न नसक्ने उल्लेख गर्दै उहाँले एमालेको सीता खाएर कांग्रेसको गीता गाउनेहरुले अबको निर्वाचनमा स्थान पाउन नसक्ने स्पष्ट पार्नुभयो । प्रचण्डले आफ्नो स्वार्थको लागि देउवालाई एमालेसँग मिल्न सक्छै, सरकार ढालिदिन्छौ भनि धम्की दिने गरको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘म न्यायपालिकालाई भन्न चाहन्छु, प्रचण्ड जस्तो अश्लिल, माधव जस्तो अवसरवादी अनि शेरबहादुर जस्तो असक्षम मान्छेको कुरा सुनेर एमालेमाथि आरोप लगाउनुभयो भने संविधानमाथिको प्रहार हुनेछ, लोकतन्त्रमाथिको प्रहार हुनेछ । यदी गठबन्धनको योजनामा एमालेलाई तह लगाउन न्यायपालिका लागे संवैधानिक रुपमा न्यायपालिकाका नेतृत्वकर्तालाई तह लगाउन एमाले तयार छ । हस्ताक्षर तयार अवस्थामा छ । एमालेको विगतको गर्विलो इतिहास छ, पिठ्युँ फर्काएर हिड्नेवाला छैन ।’

एमालेलाई बक्रदृष्टि राख्नेहरुलाई नोटिस गरेर एमाले निर्वाचनमा होमिएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा कांग्रेस हाफ, माओवादी र नेकपा एस पत्ता साफ हुने दावी गर्नुभयो । उहाँले प्रचण्ड र माधवलाई बोकेर दुई जडिया दाजुभाईको कथा जस्तो नबन्न समेत सुझाव दिनुयभो । उहाँले भन्नुभयो, ‘एउटा गाउँमा दुई जडिया दाजुभाई थिए । एक दिन ति दुबै जना जाँड खाएर बाटोमा लडेछन् । एक जना सोझो छिमेकी सोही बाटोहुँद आफ्नो घर गइरहेका रहेछन् । त्यस बेला बाटोको दुई साइडमा दुई दाजुभाई जाँड खाएर लडेका रहेछन् । ति छिमेकीले दुवैलार्य समाउँदै द्धर लगेछन् । त्यसपछि दुई जडिया दाजुभाइलाई लगेको देखेपछि ति छिमेकीलाई समेजत गाउँलेले ति डिया दाजुभाइ जस्तै मातेर हिडेको भनि भनेछन् । कांग्रेसले पनि माधव र प्रचण्डलाई बोलेर त्यो जडियाको इतिहास जस्तै नबनाओस् । वालुवाटार काण्ड मच्चाएका, भ्रष्टाचार गरेका, मानवअधिकार हनन् गरेका लगायतका अपराधिक गतिविधिहरु गर्नेलाई कांग्रेसले किन च्यापेको छ ? हामीले बुझेका छैनौं । निर्वाचनमा माओवादी र एस पार्टीलाई च्याप्ने कांग्रेसलाई जनताले सवैभन्दा बढी सजाय दिनेछन् ।’

Sharing

प्रतिक्रिया दिनुहोस