• २०८२ असार २४ गते मङ्गलवार

सभापति देउवाले बोक्न नसक्ने ‘भारी’ भयो कांग्रेस

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २, काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मीले देशलाई ढपक्कै ढाके पनि सत्तारूढ नेपाली कांग्रेसका अधिकांश कार्यकर्तालाई भने यसपटकको निर्वाचन ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ । सोमबार काठमाडौंको नयाँ सडकमा भेटिएका प्युठान खलंगाका श्रीधर भण्डारी यसपटकको निर्वाचनबाट आफू उत्साहित नभएको बताउनुहुन्छ । घरपरिवार नै कांग्रेस र आफू पनि नेपाल विद्यार्थी संघमा आबद्ध रहे पनि यसपटक निर्वाचनमा आफूलाई भोट हाल्ने जाँगर नभएको भण्डारीको भनाइ छ ।

निर्वाचनमा मतदान गर्नका लागि कलेज बिदा छ, जाने गाडी सित्तैमा पाइन्छ तर पनि भण्डारीले भोट हाल्न जिल्ला जानुभन्दा हिन्दी फिल्म ‘उचाइ’ दोहो¥याएर हेर्ने मनस्थितिमा रहेको बताउनुभयो । महाबौद्धको एक थोक पसलमा भेटिएका बुटवल देवीनगरका शालिकराम ज्ञवाली निर्वाचनमा आफू बुटवल नफर्कने बताउनुहुन्छ । गुल्मीमा हुँदादेखि नै आफू कांग्रेस कार्यकर्ता रहेको र २०४६ सालको आन्दोलनमा सक्रिय सहभागी भए पनि यसपटकको निर्वाचनले उहाँलाई खिन्न बनाएको छ ।

२०६८ सालदेखि बुटवलमा बसाइँ सरेका ज्ञवालीले अघिल्ला निर्वाचनमा पार्टीको बुथ एजेन्टसमेत भएर खटिनुभयो । यसपटक उहाँ आफ्नो क्षेत्रमा खटिनुभन्दा बरु छोराछोरीलाई पनि भेट्ने र होलसेलमा सामान किन्ने भन्दै काठमाडौं हानिनुभएको छ । चितवनको नारायणगढस्थित पुलचोकमा व्यवसाय गर्दै आएका बुद्धिनारायण श्रेष्ठले यसपटक आफू ‘नो भोट’को पक्षमा रहेको बताउनुहुन्छ । नेपाल समाचारपत्रको टिम जिल्ला भ्रमणबाट फर्कने क्रममा भेटिएका श्रेष्ठ तनहुँबाट चितवन झर्नुभएको हो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस