माघ ४, सुनसरी । सुनसरीको सीमावर्ती गाउँ चिमडीको बर्जु महोत्सवमा उपस्थित हुने भनिएका कलाकार नआएको भन्दै आक्रोशित दर्शकले आगजनी गरेका छन् । जिल्ला सदरमुकाम इनरुवादेखि २२ किलोमिटर दूरीमा रहेको बर्जु गाउँपालिका ६ चिमडीको बर्जु तालमा भारतको बिहारका भोजपुरी सुपर स्टार खेसारीलाल यादव आउने भनेर व्यापक प्रचारप्रसार गरिएकोमा यादव नआएपछि आक्रोशमा दर्शकले मञ्च र केही गाडीमा आगजनी गरेका हुन् ।
बिहानैबाट टिकट काटेर प्रवेश गरेको तर कलाकार यादव नआउने भएपछि दिउँसो दर्शकले आगजनी गरेका हुन ।आगजनीबाट भारतीय नम्बर प्लेट भएका चार वटा स्कारपियो जलेका छन् । भोजपुरी सुपर स्टार कलाकारलाई हेर्न स्थानीय दर्शक बिहानैदेखि दुई सय र तीन सय रुपियाँको टिकट काटेर महोत्सवमा बसेका थिए ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । पुस २३ गतेदेखि चलेको महोत्सवमा विभिन्न कलाकारको प्रस्तुति हुँदै आएको थियो ।