चैत ३, काठमाडौं । सरकारले स्थानीयसँगको सहमति कार्यान्वयन नगर्दा काठमाडौंमा हप्तौंसम्म फोहोर उठ्न सकेको छैन । स्थानीयले सरकारले सडक बाटो निर्माण नगरेको भन्दै पटकपटक फोहोरका गाडी रोक्दै आएका छन् । यसअघि फागुन लागेसँगै स्थानीयले बाटो अवरोध गरेर फोहोर बोकेका गाडी रोकपछि दुई साता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको थिएन ।

पासाङ ल्हामु राजमार्गमा पर्ने तिनपिप्लेका स्थानीयले सडक पिच गर्नुपर्ने माग राखेकोमा तत्काल निर्माणको काम सुरु भएपछि फोहोरका गाडी आवतजावत गर्न पाएका थिए । पुनः सोही राजमार्गको अर्को खण्डमा सिसडोलकै विषयलाई लिएर अवरोध भएपछि फेरि काठमाडौंको फोहोर उठ्न सकेको छैन ।
काठमाडौं महानगरपालिका सूचना अधिकारी वसन्त आचार्यले सोमबार सहमति जुटेपछि काठमाडौंको फोहोर उठ्न सुरु भएको जनाएका छन् । ‘तिनपिप्लेका स्थानीयले संघीय सरकारले ठेक्का दिएको सडक पिच नभएको भन्दै १२ दिन सडक अवरुद्ध गरेसँगै सडक पिचको काम सुरु भएपछि फोहोर उठ्न सुरु भएको थियो, फेरि अर्को ठाउँमा अवरोध सिर्जना भएको हो, त्यसमा पनि सहमति भएर फोहोर उठ्न सुरु भएको छ,’ उनले राजधानीसँग भने ।
सरकारले सडक बाटो निर्माण तथा पिच गर्ने सहमति गर्ने तर समयमा नै काम सम्पन्न नगर्ने गर्दा काठमाडौंको फोहोर उठाउने विषयमा समस्या उत्पन्न हुँदै आएको पाइएको छ ।
मन्त्रिपरिषद्सम्म विषय प्रवेश, कार्यान्वयनमा अझै समस्या
सडक ठेक्का लागेको ९ वर्षसम्म पिच नभएपछि गत १ फागुनदेखि बालाजु–रानीपौवा खण्डका स्थानीयले झन्डै दुई हप्ता सडक रोकेर अवरोध सिर्जना गरे ।
स्थानीयको अवरोधका कारण करिब १५ सय फोहोर बोक्ने ट्रक रोकिए भने काठमाडौं उपत्यका दुर्गन्धित बन्न पुग्यो । अन्त्यमा सरोकारवाला निकायले यथाशीघ्र सडक बनाउने प्रतिबद्धता जनाएपछि स्थानीयले फोहोरका गाडी गुड्न दिन थाले । केही दिन बित्न नपाउँदै सडकमा ठेकदार र कामदार नदेखेपछि फेरि तारकेश्वर नगरपालिक–३ स्थित तीन पिप्लेका स्थानीयले सडक रोके । केही समयपछि कामदार आएपछि तत्काललाई समस्या समाधान भयो । फेरि अर्को ठाउँका स्थानीयले सडक अवरोध सिर्जना गर्न पुगे ।
सडक निर्माण तथा पिच नभएका कारण सो क्षेत्रमा कतिबेला फोहोर बोकेका गाडी बन्द हुन्छन् भन्ने टुंगो नहुने अवस्था सिर्जना हुन थालेको छ ।
तर, पछिल्ला दिनको स्थानीयको निरन्तरको खबरदारीपछि सो विषय सडक विभाग, मन्त्रालय हुँदै मन्त्रिपरिषद्सम्म पुगेको छ । यतिसम्म कि मन्त्रिपरिषद्को केही दिनअघि बसेको बैठकले बन्चरे डाँडा ल्यान्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न ¥यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय नै गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बञ्चरे डाँडा ल्यान्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गर्न -यापिड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय भएको बताएका छन् ।
बन्चरे डाँडा ल्यान्डफिल्ड साइडमा देखिएका स्थानीय समस्या समाधान गरी फोहोरको वैज्ञानिक व्यवस्थापन र अविलम्ब आवश्यक कार्य प्रारम्भ गर्न ¥यापिड एक्सन टास्क फोर्स गठन गरिएको उनको भनाइ छ । मन्त्रिपरिषद्ले टास्क फोर्स गठन गरेपछि फोर्सले फिल्डमा गएर प्रभावकारी कामको अगाडि बढाउन सकेको छैन ।
सो क्षेत्रमा गत १ फागुनदेखि नै स्थानीयले सडक पिच नभएको भन्दै फोहोर बोकेका गाडीलाई रोकेका थिए । सडक नबनाएको विरोधमा स्थानीयले आन्दोलन गर्दा झन्डै दुई सातासम्म फोहोरका गाडी काठमाडौं उपत्यकामा रोकिएका थिए । जनप्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका प्रमुखलगायत पुगेर ठेकेदारलाई काम थाल्न निर्देशन दिएपछि फोहोरका गाडी सञ्चालनमा आएका थिए ।
सडक अवरोध खुलाउने क्रममा नै उनीहरूले जुन दिन सडक कालोपत्रेका लागि भइरहेको तयारीको काम रोकिन्छ, त्यही दिन फोहोर बोकेका गाडी पनि रोकिने सर्त राखेका छन् ।
फोहोरका गाडी रोकेर आन्दोलन भएपछि झन्डै डेढ वर्षदेखि गुमनाम सडक विभाग र ठेकदार शैलुङ कन्स्ट्रक्सन इन्जिनियर तथा कामदार सडकका उपस्थित भएर काम थालेका छन् । अहिले सडकमा ग्राभेलको काम अघि बढेको छ भने हेभी मेसिन चलाउन थालिएको छ ।
पासाङ ल्हामु राजमार्गमा पर्ने सो सडकखण्ड करिब नौ वर्ष अगाडि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनले पिच गर्ने ठेक्का पाएको थियो । करिब ६ किलोमिटर सडक विगत नौ वर्षको अवधिमा पनि ठेक्का पाएको शैलुङले पिच नै नगरेको पाइएको छ ।
स्थानीयले सो क्षेत्रमा ठेकेदार कम्पनीका मालिक शारदाप्रसाद अधिकारीको फोटो नै राखेर छिटो पिच गर्न दबाब दिएका थिए ।
विगत १६ वर्षदेखि नुवाकोटको सिसडोलमा काठमाडौं, ललितपुरलगायत ठाउँको फोहोर फालिँदै आएको छ ।
सरकारले दिगो रूपमा फोहोर व्यवस्थापन गर्न नुवाकोट–धादिङ सिमानामा रहेको बन्चरेडाँडामा ल्यान्डफिल साइट बनाउँदै आए पनि ढिलासुस्तीका कारण अझै निर्माण सम्पन्न हुन सकेको छैन । ३१ करोड रुपैयाँमा ठेक्का लागेको यो आयोजनामा कुल ५८ प्रतिशत मात्र काम सकिएको जनाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा रहेको छ ।