कात्तिक ३०, काठमाडौं । वामपन्थी बुद्धिजीवीले राष्ट्रियता, समावेशी विकास र समृद्धिका लागि नेकपा एमालेलाई विजयी गराउन अपिल गरेका छन् । नेपाल बुद्धिजीवी परिषदद्वारा मंगलबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा वामपन्थी बुद्धिजीवीले ‘राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, विकास र समृद्धिको स्पष्ट खाका नेकपा एमालेसँग मात्र भएको’ बताउँदै ‘यसपटकको निर्वाचनमा एमालेलाई बहुमत दिलाउन’ अपिल गरेका हुन् ।
नेपाल बुद्धिजीवी परिषद् अध्यक्ष तथा राष्ट्रिय योजना आयोग पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले ‘समृद्ध नेपाल, सुखी नेपालीको स्पष्ट खाका एमालेसँग मात्र भएकाले जिताउनुपर्ने’मा जोड दिए ।
सत्ता गठबन्धनले देशको अर्थतन्त्र धराशायी बनाएको र सत्ता स्वार्थमा केन्द्रित भएको बताउँदै उनले एमालेले २०५१ मा सामाजिक सुरक्षा र लोककल्याणकारी काम थालनी गरेको स्मरण गरे । २०७४ मा संघीयता कार्यान्वयन, पृथकतावाद र हिंसा अन्त्य, राष्ट्रिय स्वाधीनता रक्षा तथा विकास र समृद्धि यात्रा अघि बढाउने काम गरेकाले एमालेको विकल्प नभएको देवकोटाको तर्क छ ।
अर्का बुद्धिजीवी तथा परिषद् उपाध्यक्ष विधान आचार्यले सत्ता गठबन्धनले बाह्य सम्बन्धमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात पु¥याएको आरोप लगाए ।
‘सत्ता बाँडफाँटका नाममा अन्त्यहीन किचलो र अस्थिरता निम्त्याइएको छ, सत्ता गठबन्धनले सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि राज्य संयन्त्र दुरुपयोग गरेको छ,’ उनले भने, ‘अर्थतन्त्र दोहन गरी बर्बादी गरेको, सीमित नेताको सत्ता स्वार्थको परिपूर्ति मात्र गरेको छ, राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमान रक्षा गर्न, राजनीतिक स्थायित्व, मितव्ययी, पारदर्शी र जनउत्तरदायी शासन व्यवस्था बनाउन एमालेलाई जिताउनुपर्ने आवश्यक छ ।’
यसैगरी, बुद्धिजीवी महेन्द्र गुरुङले जनमतको कदर गर्ने र देश बनाउने ‘भिजन’ एमालेसँग मात्र भएको दाबी गरे । एमालेलाई विजयी बनाउनुपर्ने आवश्यकतासमेत उनले औंल्याए । कार्यक्रम सहजीकरण उपमहासचिव सुशील विकेले गरेका थिए ।