वि.सं. २०७९ ज्येष्ठ ०२ गते सोमवार तदनुसार ई. सं. २०२२ मई १६ तारिख, नल नामक संवत्सर, शाके :- १९४४, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :- ११४२, (वछलाथ्व), नेपालमा सूर्योदय : बिहान ०५:१७ बजे र सूर्यास्त : साँझ ०६:४५ बजे, वैशाख शुक्लपक्षको पूर्णीमा तिथि, बिहान १०:२० बजेसम्म, त्यसपछि प्रतिपदा/परेवा तिथि, विशाखा नक्षत्र, दिउँसो ०२:१७ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, बिहान ०८:३९ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अहङ्कार, अडान र आडम्बर तपाईंका कमजोरी बन्नसक्छन्, त्यसैले सँगीसाथी, घरपरिवार र खासगरी जीवनसाथीको भावना बुझिदिनु, कुरा सुन्नु अनि आफू व्यवहारिक बन्नु राम्रो हुन्छ । कार्यालयमा स्टाफहरूका माझमा समन्वयको कमी छ भने बरु वैठक राखेर सुलह गर्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने र प्रशासनिक समस्या उत्पन्न हुने खतरा हुन्छ । मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनसक्छ, तर मनको कुरो साथीले नबुझिदिंदा वैचारिक मतभेद हुनसक्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रेमसम्बन्ध र दाम्पत्य सुखका लागि महत्त्वपूणर् दिन छ । पारिवारिक वातावरण पनि सुमधुर रहनेछ । घुमघाम र मस्तीमा खर्च बढ्नेछ । भौतिक उपकरण वा सुखसुविधाको वस्तु खरिद गर्ने समय हो, नयाँ लगानी गर्नु छ भने जीवनसाथीको नाममा सुरु गर्नुहोस्, फाइदा हुनेछ । परिवारमा सुख र सौहाद्र्रता प्राप्त हुनेछ । आजको कुनै समय वैवाहिक सम्बन्धका सुमधुर पलहरूको स्मृतिमा बित्ने तथा हृदय भावुक बन्नसक्ने दिन हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिश्रम र आरामको सन्तुलनमा ध्यान दिनु आवश्यक छ, एकोहोरिएर घोरिंदा स्वास्थ्यस्थिति बिग्रने डर हुन्छ, सचेत बन्नुहोला । खानपान र व्यायामको अनुशासनमा नरहनाले स्वास्थ्य कमजोर बन्नसक्छ, आर्थिक पक्ष तथा झैझगडा/कलहप्रति पनि सावधान रहनुपर्ने हुन्छ । मायाप्रेममा कमी आउने छैन । गल्ती र कमजोरीलाई माध्यम बनाएर प्रतिद्वन्द्वीले होच्याउने र खिसिट्युरी गर्ने परिस्थिति भएकाले काम गर्दा गल्ती हुन्छ कि भनी चनाखो हुनुपर्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
कुनै समस्या देखिएको छ भने पार्टनरसित भेट गरी कुरा राख्नसके समाधानको बाटो पहिल्याउन सकिने छ । घरपरिवारमा माङ्गलिक कार्यको कुराकानी वा पूजापाठ आदिको आयोजना हुनसक्छ । प्रेम, प्रणय र भावनामा मनको आकर्षण रहने छ । आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दौडधूप गर्ने समय हो, तर पनि एक किसिमको जमघट र रामरमाइलोमा सरिक हुँदा मन प्रसन्न नै रहने छ । बुढाबुढीको सेवा गर्दा भाग्य बढ्ने दिन हो । पारिवारिक तनावका कारण पढाइ विचलित हुनसक्ने समय छ । अध्ययनका साथसाथ व्यवहारिक कामको सन्तुलन कायम राख्नुहोला । आयस्रोत र पदप्रतिष्ठामा बृद्धि होस् भन्ने उद्देश्यले सुरक्षित आर्थिक गतिविधिमा ध्यान दिनु आवश्यक देखिन्छ, तपाईंभित्रको आन्तरिक ऊर्जा र साहसी मनोवृत्तिले सकारात्मक परिणाम प्रदान गर्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने समय छ, दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुने समय छ । पुरानो समस्या वा कारबाहीप्रति ध्यान केन्द्रित हुनसक्छ । कुनै नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा सबै समस्या हल गर्न सकिने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मौखिक अभिव्यक्तिका माध्यमबाट नयाँ अवसर मिल्नसक्छ, हातमा अचानक नसोचेको धन प्राप्ति हुनेछ । त्यस्तै कारोबार विस्तारका लागि धनलगानी गर्ने परिस्थिति देखिन्छ । व्यवसायबाट विशेष लाभ लिने दिन हो, तर बोली र आचरणमा संयमता अपनाउनु पर्छ, साथै नयाँ लगानीका बारेमा पनि सतर्क रहनु ठीक हुन्छ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक रूपमा लाभसमेत पाउन सक्नुहुन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भौतिक सुख र प्रतिष्ठाबृद्धिको चिन्ताले सताउने समय छ । चाहेको उपलब्धि प्राप्त हुनेछ, तर पनि महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन छ । व्यक्तित्व विकासका साथै आफ्नो शारीरिक र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ । त्यसैले सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । आफूलाई चित्त नबुझेको कुरालाई राम्ररी पहिल्याएर भन्न सकेमा मनको तुस हटेर जानेछ र सुखानुभूति मिल्नेछ । वैराग्य र निराशाका भाव मँडारिन सक्छन्, तर आज कुनै फाइदा हुने क्षेत्रमा आकर्षण छ वा स्थान परिवर्तन गर्ने मुडमा हुनुहुन्छ भने काम थाल्नुस् लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सहकार्यमा कुनै काम गर्दै हुनुहुन्छ भने अर्काको भरमा मात्र ढुक्क पर्नु हुँदैन । घरजग्गा व्यवसायीले कुनै लाभदायक सम्झौता गर्नसक्छन् । कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, जस्तै आज कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने दिन छ । आफूभन्दा कमजोर भाइबहिनी वा साथीहरूलाई अर्तिबुद्धि दिन मन लाग्छ वा संस्कार र संस्कृतिका बारेमा समेत सिकाउने समय हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
लेखन/प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । दाम्पत्यसम्बन्ध र पारिवारिक जीवन सुखमय रहनेछ । कामकाजी महिलाले आफ्नो कार्यक्षेत्रमा समेत राम्रो प्रगति गर्नसक्ने समय हो । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
कार्यक्षेत्रमा गज्जबले समय व्यतीत हुनेछ, अझ राम्रो होस् भन्ने उद्देश्यले कुनै दुःखीलाई सहयोग गर्नु वा कुनै धार्मिक क्षेत्रमा दान गर्नु राम्रो हुन्छ । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । सहयोगको भावना पलाउने दिन हो, कुनै महत्त्वपूणर् काममा कसैको सहयोग गर्नुपर्ने वा परोपकारी काममा लगानी गर्ने परिस्थिति बन्नेछ ।