असोज २९, धनुषा । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधीसभा सदस्य निर्वाचनको लागि धनुषा क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दिएका जसपाका पुर्व नेता साधु यादवले आफ्नो उम्मेदवारी फिर्ता लिदै अर्का उम्मेदवार मातृका प्रसाद यादवलाई समर्थन गरेका छन । उम्मेदवारी फिर्ता लिदै उनी भन्छन्, “प्रतिगामी गठबन्धनको बिरुद्ध अग्रगामी वाम लोकतान्त्रिक गठबन्धनले जित्नु पर्छ । अनिमात्र संविधान, संघीयता, समावेशी समानुपातिक प्रणालीको रक्षा हुन्छ । देशमा सुशासन कायम हुन्छ” ।
साथै उनी समग्र मधेश तथा देशकै लागि नेता मातृका प्रसाद यादवको आवश्यकता रहेकोले उहाँको जित हुनुपर्ने ठहर गर्दै आफुले दिएको उम्मेदवादी फिर्ता लिएर नेता मातृका यादवलाई समर्थन गरेको बताउँछन् ।
धनुषाधाम वडा नं. १ स्थायी निवासी नेता साधु यादव जसपा एउटै हुँदा राजनीतिक समितिको सदस्य थिए । जसपाको फुट पछि बाबुराम भट्टराई पक्षमा लागेका उनी अहिले स्वतन्त्र भइ सक्रिय छन् ।
धनुषा क्षेत्र नं. १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट मातृका प्रसाद यादव, एमाले जसपा गठबन्धनबाट दिपक कार्की, सिके राउत नेतृत्वको जनमत पार्टीबाट किशोरी यादव लगाएत उम्मेदवार छन् ।