कात्तिक २८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न मङ्सिर ४ गते संविधानको रक्षक र विरोधी बीचको लडाइँको फैसला जनताले गर्ने बताउनुभएको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित धैरुङ्ममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले आसन्न निर्वाचनमा दुई गठबन्धन चुनावी मैदानमा रहेको भन्दै संविधानको रक्षा गर्ने वाम–लोकतान्त्रिकको पक्षमा जनताले मत दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “एउटा गठबन्धन केपी ओलीले नेतृत्व गर्नुभएको छ, जहाँ संविधान विरोधी, गणतन्त्र विरोधी शक्तिहरू मिलेर बनेको छ । अर्को गठबन्धन मेरो र कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा छ जसले संविधानको रक्षा गर्दै आएको छ, अबको चुनावमा जनताले संविधानको विरोधीलाई परास्त गर्नुपर्छ ।”