जेठ ३१, मोरङ । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा नेकपा एमालेका अजम्बर राई निर्वाचित भएका छन् । विराटनगरमा मङ्गलबार भएको निर्वाचनबाट एमालेको प्यानलै विजयी भएको हो । एमालेका उम्मेदवार राई प्रमुख र उषा झा उपप्रमुखमा २१/२१ मत ल्याएर विजयी भएका हुन् ।
तेसै गरि काङ्ग्रेसबाट प्रमुखको उम्मेदवार रहेका जितेन्द्र अग्रवाल तथा उपप्रमुख उम्मेदवार निलमकुमारी सरदारले १३/१३ मत ल्याएका छन् । साथै महिला सदस्यमा एमालेका उम्मेदवारहरु उमा नेपाली, उर्बसीकुमारी थारु र हरिमाया विश्वकर्मा विजयी भएका छन् । उनीहरुमध्ये नेपालीले २३, थारु र विश्वकर्माले २१/२१ मत प्राप्त गरेका छन् ।
काङ्ग्रेसका तर्फबाट महिला सदस्यको उम्मेदवार रहेका गीताकुमारी विश्वकर्माले ११, जुमाे खातुन र मीनादेवी विश्वासले १३/१३ मत पाएको जानकारी प्राप्त भएको छ। जिससको अन्य सदस्यमा एमालेका तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल निर्वाचित भएका छन् । घिमिरे र ढकालले २२/२२ तथा कटुवालले २१ मत ल्याएका छन् । अन्य सदस्यमा काङ्ग्रेसको तर्फबाट उम्मेदवार रहेका इम्त्याज अन्सारीले १२ र कल्याण लामिछानेको १३ मत पाएकाे जानकारी प्राप्त भएको छ ।