• २०८३ मङ्सिर १३ गते शनिवार

रोल्पाको थवाङ गाउँपालिकामा असार १ र २ गते सार्वजनिक बिदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ ३१, रोल्पा। रोल्पाको थवाङ गाउँपालिकाले असार १ र २ गते सार्वजनिक बिदा दिएको छ । थवाङमा भूमे पर्वको रौनक सुरु भएको छ ।

प्राकृतिक विपत्तिबाट बच्ने विश्वासका साथ प्रकृतिको पूजा गरी यो पर्व मनाउने गरिन्छ । असार १ गतेदेखि ५ गतेसम्म यो पर्व मनाउने चलन रहँदै आएको छ । भूमे पर्वको उपलक्ष्यमा थवाङ गाउँपालिकाले असार १ र २ गते सार्वजनिक बिदा दिएको हो ।

भूमे पर्व अगावै गाउँका युवायुवती जलजलामा फूल लिन जाने गर्दछन् । पुजारी र दमाहाका साथ फूल लिन जाने चलनलाई ‘मुरुला’ लिन जाने भनिन्छ । भूमे पूजा अगावै जलजला देउतालाई शान्त पार्न यसरी फूल लिने र पूजा गर्ने चलन रहेको छ । असार १ गते भूमे पूजा गरिन्छ भने २ गतेदेखि ५ गतेसम्म भूमे नाच र नचारु नाच नाच्ने चलन रहेको छ । उक्त पर्वमा पूजासँगै २२ चालमा नाच नाच्ने गरिन्छ । स्थानीय भाषामा यस पर्वलाई ‘नोगोबाङ्गे’ भनिन्छ ।

मगर बहुल क्षेत्रमा विशेष पर्वका रुपमा मनाइने यस पर्व रोल्पाका जेल्वाङ, कुरेलीलगायतका स्थानमा समेत मनाइए पनि थवाङमा भने विशेष रुपमा मनाउने गरिन्छ । थवाङमा लाग्ने भूमे नाच हेर्न तथा रमाइलो गर्न छिमेकी जिल्लाबाट समेत जाने गर्दछन् । यो पर्व मनाउन विभिन्न काम विशेषले देश विदेशमा रहेका थवाङीहरु पनि घर आउने गर्दछन् ।

Sharing

प्रतिक्रिया दिनुहोस