• २०८३ बैशाख ३ गते बिहिवार

गोदावरी नगरपालिकाको आफ्नै अत्याधुनिक प्रशासनिक भवन निर्माण सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २६, ललितपुर। ललितपुरको गोदावरी नगरपालिकाको आफ्नै अत्याधुनिक प्रशासनिक भवन निर्माण सम्पन्न गरेको छ । स्थानीय सरकारको रुपमा सेवा प्रवाह गर्नका लागि नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गरेको हो ।

नगरपालिकाको वडा नं. ११ स्थित् बज्रबारीमा निर्माण भएको भवनको उद्घाटन गरी सोही कार्यालयबाट प्रशासनिक सेवा प्रवाह गर्न लागिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो । कुल २५ करोड रूपियाँको लागतमा निर्माण भएको प्रशासनिक भवनका लागि जिल्ला समन्वय समिति ललितपुरले चार करोड र बाँकी २१ करोड रूपियाँ नगरपालिका आफैंले लगानी गरी भवन निर्माण गरेको हो ।

८ रोपनी क्षेत्रफलमा फैलिएको प्रशासनिक भवनमा सबै विषयगत शाखाको छुट्टाछुट्टै कक्ष रहेका छन् । त्यस्तै उक्त भवनमा सभाहल, प्रमुख, उपप्रमुखको अलगै कक्ष, सेवाग्राही प्रतिक्षालय, सुविधा सम्पन्न पार्किङ, बगैंचा लगायतका छुट्टाछुट्टै संरचना निर्माण गरिएका छन् ।

प्रमुख महर्जनले भन्नुभयो “ भविष्यमा मालपोत कार्यालय आएको खण्डमा समेत सोही भवनबाट सेवा प्रवाह गर्न सकिने गरी भवन निर्माण गरिएको छ ।” सात तलाको अत्याधुनिक प्रशासनिक भवन निर्माण भएपछि सेवा प्रवाह सहज भइ भाडा बस्नुपर्ने बाध्यताको समेत अन्त्य हुने महर्जनले बताउनुभयो । २०७४ साल असोज २८ गते प्रशासनिक भवन निर्माणको शिलन्यास गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस