माध २७ डोटी।डोटी जिल्लामा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका छन् ।
कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन् । तिनै सेताम्मे डाँडाकाँडा अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ । हिउँ खेल्नकै लागि भएपनि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

हिमपात भएका यहाँका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् । यहाँको पूर्वीचौकी गाउँपालिका–२ बग्लेकमा सबैभन्दा बढी हिमपात भएका छन् । हिमपातपछि अहिले सरकारी कर्मचारीदेखि आन्तरिक पर्यटक त्यहाँ दिनहुँ हिउँ खेल्नमा रमाउने गरेका छन् । बग्लेकमा सात वर्षयताकै ठूलो हिउँ परेकाले पनि यहाँ हिउँ खेल्नकै लागि पर्यटकको घुइँचो बढेको स्थानीयवासी बताउँछन् ।
जिल्लामा कोरोना जोखिम कायमै रहेको र सार्वजनिक ठाउँमा बढी भिडभाड नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरे पनि हिउँ खेल्नका लागि दैनिक सयौँ नागरिक बग्लेक पुग्ने गरेको स्थानीयवासी भरतबहादुर साउँदले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँले डाँडाकाँडा र रुख सेताम्मे भएका छन्, कोरोनाको बेवास्ता गर्दै आन्तरिक पर्यटक दैनिक हिउँ खेल्न आउने गरेका छन् ।” हिउँ खेल्नका लागि बग्लेकमा दिनहुँ आन्तरिक पर्यटक भित्रिन थालेपछि यहाँको व्यापार व्यवसाय पनि फस्टाएको उहाँको भनाइ छ ।
हिउँ खेल्न आउने आन्तरिक पर्यटकका कारण यहाँको चहलपहल निकै बढेको अर्का स्थानीयवासी धनबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “बग्लेकलाई मिनी खप्तडका रुपमा पनि चिनिँदै आएको थियो, अहिले हिउँ परेपछि आन्तरिक पर्यटक आउन थालेकाले यहाँको चहलपहल झनै बढेको छ ।” हिउँमा टिकटक बनाउनेदेखि दिनभरि चिप्लेटी खेल्ने पर्यटकका कारण अहिले बग्लेकमा चहलपहल ह्वातै बढेको छ । जिल्ला सदरमुकाम सिलगढीबाट करिब ३० मिनेटको गाडी यात्रामा पुगिने भएकाले पनि बग्लेकमा अहिले हिउँ खेल्न जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको लडबुद्ध होटेल सिलगढीका सञ्चालक सिद्धराज जोशीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाडीको यात्रामा बग्लेक नजिकै छ, त्यसैमा झन यो वर्ष उल्लेख्य मात्रामा हिउँ परेपछि उक्त क्षेत्र पर्यटकको प्रमुख रोजाइँमा परेको हो ।” शुक्रबारदेखि उक्त क्षेत्रमा करिब तीन हजार आन्तरिक पर्यटक हिउँ खेल्नका लागि पुगेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै बढी भिडभाड नगर्न आग्रह गरिए पनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकलाई रोक्न नसकिएको प्रहरी बताउँछन् । बग्लेकमा करिब सात वर्षपछिकै बाक्लो हिमपात यो वर्ष भएको र यातायातका साधन पनि पुग्ने भएकाले अहिले उक्त क्षेत्रमा हिउँ खेल्न तथा रमाइलो गर्न आउनेको सङ्ख्या बढ्दै गएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो ।