माघ २६, नवलपरासी । पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालय मातहत १५ दिनको अवधीमा १३ लाख ८३ हजार ६ सय ३० मुल्य बराबरको राजश्व दाखिला गरिएको छ ।
यस अवधीमा भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको २ लाख ५८ हजार १ सय ३० मुल्य बराबर साडी, सुट लगायतका बिभिन्न कपडा, १५ सय किलो चिनी, २० क्यारेट सेतो अण्डा, २४ प्याकेट घाँसको बिउ, ४ सय थान मोबाईल कभर लगायत बिभिन्न मालसामान बरामद गरी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको छ ।
यसैगरी सामुदायिक वनबाट अवैध रुपमा ल्याउदै गरेको ४ लाख ५० हजार मुल्य बराबरको दाउरा सहित ६ वटा ट्याक्टर र ३ वटा बोलेरो पिकअप गाडी बर्दघाट नगरपालिका वडा नं.४ टि.सि.एन। चोकबाट पक्राउ गरी कारबाहीको लागि सयपत्री सामुदायिक वन कार्यालय बर्दघाटमा बुझाईएको छ ।
त्यसैगरी सरावल गाउँपालिका वडा न. ७ भुजहवा स्थित शाही ट्रेडर्स कवाड संकलन स्टलबाट ६ लाख ७५ हजार ५ सय मुल्य बराबरको ९५८ किलोग्राम झ्याउ र २१८ किलोग्राम सुनाखरी नामक जडिबुटी बरामद गरीएको छ । बरामद जडिबुटी जिल्ला वन डिभिजन कार्यालय नवलपरासी बुझाईएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताए ।