• २०८३ बैशाख २० गते आइतवार

बालुवाटार जग्गा प्रकरणको किर्ते तथा ठगीमा मुद्दा चलाउने तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २२, काठमाडौं । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन विहिबार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो ।

ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सयजना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताए ।

उनले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने जानकारी दिए । पौडेलले भने, ‘भर्खरै यहाँ मिसिल प्रहरीले बुझाउँदैछ । दर्ता गरेर अध्ययनका लागि हामी सरकारी वकिल तोक्छौँ । त्यसपछि सरकारी वकिलहरूले अध्ययन गर्नुहुन्छ । अध्ययन गरेपछि अनुसन्धान पूरा भएको अवस्था भयो भने चाहीँ मुद्दा चल्ने, नचल्ने निर्णय हुन्छ । चल्ने निर्णय भयो भने अभियोगपत्र तयार भएर अदालत जान्छ ।’

प्रहरीले जतिजनालाई प्रतिवादी बनाएको भए पनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ हुनसक्ने उनले बताए । बालुवाटार जग्गा प्रकरणमा प्रहरी अनुसन्धानमा दोषी पाइएका ३ सयभन्दा बढीलाई पक्राउ गर्न अदालतले सीआईबीलाई अनुमति दिइसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस