असार २१, काठमाडौं । नक्कली नोटसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत शुक्रबार सर्लाहीको बसबरीया गाउँपालिका-३ बंगलवाका २६ वर्षीय प्रमोद ठाकुर र त्यहीका २५ वर्षीय गंगा कुमार यादवलाई काठमाडौंको दक्षिणकाली-५ फर्पिङ चेक पोइन्टबाट प्रहरीले पक्राउ गरेको हो।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ३४ प ५५७० नम्बरको १५० सि.सि.पल्सर मोटरसाइकलमा सवार रहेका उहाँहरुको साथबाट सिरियल नम्बर झ ७३६३६७०३, झ १९७९१४४४ र झ ३७५३०६६९ को हजार दरको २७ थान नक्कली नेपाली रुपियाँ फेला पारी नियन्त्रणमा लिइएको थियो।
उहाँहरुमाथि मुलुकी अपराधसहिंता २०७४ को परिच्छेद-२२ को मुद्रासम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान गरिरहेको छ।