बैशाख २१, काठमाडौं । सेयर बजार परिसूचक नेप्से १.३८ प्रतिशतले गिरावट हुँदा ०७८ मंसिरपछि २३०० अंकको विन्दुबाट झरेको छ ।बुधबार नेप्से ३१.७६ अंकले गिरावट हुँदा २२७५.६८ अंकमा बन्द भएको छ । यो पछिल्लो एक वर्षयताकै न्यून विन्दु हो ।
०७८ भदौ २ गते ३१९९.०३ अंकसम्म पुगेको नेप्से मंसिर २७ गते २२८१.६७ अंकसम्म झरेको थियो । त्यसपछि बजारमा लगातार उतारचढाव कायम रहे पनि उक्त विन्दुभन्दा झल झरेको थिएन । तर, पछिल्ला केही दिनयता निरन्तर घटिरहेको नेप्से बुधबार एक वर्षयताकै न्यून विन्दुमा झरेर बन्द भएको हो ।
नेप्सेसँगै सबै उपसूचकमा पनि गिरावट भएको छ । कारोबार रकम पनि घटेको छ । गएको सोमबार एक अर्ब ४२ करोडको कारोबार भएको बजारमा आज करिब एक अर्ब २७ करोडको कारोबार भएको छ । लगातार घट्दो क्रममा देखिएको बजारमा अरुण भ्याली हाइड्रोपावरको करिब चार करोड ५९ लाखको कारोबार हुँदा हिमालयन डिस्टिलरीको तीन करोड ५२ लाख र नबिल बैंकको तीन करोड ४२ लाख ५० हजारको कारोबार भएको छ ।
आज दिनभर बजारमा १९६ कम्पनीको सेयर कारोबार भएकामा १७७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने १५ कम्पनीको मात्रै मूल्य बढेको छ । चार कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज कारोबारमा आएका मध्ये जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा बरुण हाइड्रोपावरको ४.४५ प्रतिशतले वृद्धि भएको छ ।
ग्रिन भेन्चर्स लिमिटेडको सेयर मूल्य सर्वाधिक ९.३६ प्रतिशतले गिरावट हुँदा युनियन हाइड्रोपावरको ५.७७ प्रतिशत र सप्तकोसी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.३८ प्रतिशतले घटेको छ ।