पुस २०, काठमाडौँ । गुठी सम्पत्ति र सम्पदाको संरक्षण एवं प्रवद्र्धन गर्दै गुठी व्यवस्थालाई जीवन्तता दिने उद्देश्यले स्थापित गुठी संस्थान स्वीकृत कर्मचारी दरबन्दीको ४० प्रतिशत जनशक्तिका भरमा चलिरहेको छ ।
संस्थानमा स्वीकृत दरबन्दीअनुसार १५५ को दरबन्दी छ । त्यसमध्ये हाल ६७ मात्र कार्यरत रहेको संस्थानका अध्यक्ष पूण्यप्रसाद भुसालले राससलाई जानकारी दिनुभयो । हाल कार्यरतमध्ये पनि आगामी चैतसम्म तीन जनाले अनिवार्य अवकास पाउन लागेको जनाइएको छ । “संस्थानमा सहसचिवस्तरका सहप्रशासक दुई जनाको दरबन्दी रहेकामा दुवै पद रिक्त छ, उपसचिवस्तरका उपप्रशासक १४ जनाको दरबन्दी रहेकामा सबै पद रिक्त छ, अधिकृतभन्दा माथिल्लो तहका कर्मचारी छैनन्, १३ देखि २० वर्षसम्म अधिकृत पदमा कार्यरत कर्मचारीको वृत्ति विकास हुन सकेको छैन”, उहाँले भन्नुभयो ।
सहायक तहमा भने २८ वर्षदेखि एकै पदमा कार्यरत कर्मचारी रहेको संस्थानले जनाएको छ । हाल कार्यरत ६७ मध्ये पनि ३८ करारका कर्मचारी छन् । संस्थानमा १३ वर्षदेखि बढुवा भएको छैन । संस्थानअन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर, काठमाडौँमै पशुपति र अभिलेख शाखा, काभ्रेपलाञ्चोक, जनकपुर, महोत्तरी र वीरगञ्जमा गरी नौ शाखा छन् ।
जनशक्तिको अभाव रहेकाले नौ शाखाबाट देशभरका मठ, मन्दिर एवं गुठी व्यवस्थापनको जिम्मेवारी पाएको संस्थानमा काम चलाउन मुस्किल हुन थालेको कर्मचारी बताउँछन् । स्वीकृत दरबन्दीबाट समेत संस्थानका सबै शाखा सञ्चालन गर्न नसकिने भएपछि मस्यौदा गरी लोकसेवा आयोगमा पुगेको नयाँ विनियमावलीमा १८७ दरबन्दीको व्यवस्था गरिएको छ । नयाँ विनियमावली स्वीकृत नभई कर्मचारी पदपूर्ति नहुने भएकाले संस्थान सञ्चालनमा आउने देखिएको छ ।