चैत २०, नयाँदिल्ली। भारतको तीन दिने औपचारिक भ्रमणका लागि दिल्लीमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग विशेष भेटवार्ता गर्नुभएको छ । हैदरावाद हाउसमा शनिबार करिब पौनै घन्टा लामो विशेष भेटवार्तामा दुवै सरकार प्रमुखहरू द्विपक्षीय सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउन र सहकार्यलाई फराकिलो बनाउन सहमत हुनुभएको छ ।

नेपाल भारतबीच अल्झिएका विषयलाई आपसी विश्वास र हितका आधारमा समाधान खोज्दै दुई पक्षीय सम्बन्ध र सहयोगलाई थप बलियो बनाउने सहमति भएको छ ।दुई प्रधानमन्त्रीबीच मात्रको प्रत्यक्ष वार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच पनि सामूहिक छलफल भएको थियो । हैदरावाद भेटवार्ता र प्रतिनिधिमण्डलबीचको छलफलपछि आयोजित पत्रकार सम्मेलनलाई दुवै प्रधानमन्त्रीहरूले संयुक्त रूपमा सम्बोधन गर्नुभएको थियो ।
हैदरावाद वार्तामा प्रधानमन्त्री देउवाले सीमा समस्याका समाधानका लागि संयुक्त संयन्त्रको प्रस्ताव गर्नुभएको थियो र त्यसमा मोदीले सकारात्मक प्रतिक्रिया जनाउनुभएको थियो । दुई प्रधानमन्त्रीबीचको वार्ता सीमा समाधान, सुरक्षा चासो, ऊर्जा विकासको साझेदारी र सहकार्य एवं आर्थिक विकासका लागि सम्पर्क सञ्जाल बढाउने विषयमा केन्द्रित थियो । शीर्ष वार्तापछि हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले पारस्परिक हितलाई ध्यानमा राख्दै सहयोग र सहकार्यलाई विस्तार गर्ने सम्बन्धमा समकक्षी भारतका प्रधानमन्त्री मोदीसँग सकारात्मक छलफल भएको बताउनुभयो ।
देउवाले भन्नुभयो, “मोदीजीसँग हार्दिक र फलदायी छलफल भएको छ । यसले हामीबीचको सम्बन्धलाई नयाँ उचाइ दिने विश्वास मैले लिएको छु ।” उहाँले भारतले नेपालको आर्थिक, सामाजिक र राजनीतिकलगायत सबै क्षेत्रमा निरन्तर महìवपूर्ण सहयोग उपलब्ध गराउँदै आएको चर्चा गर्दै मोदीको भिजनरी नेतृत्वबाट भारतले गरिरहेको प्रगतिबाट नेपालले पनि लाभ लिनसक्ने बताउनुभयो ।
भारतका प्रधानमन्त्री मोदीले नेपाल र भारतबीच विशिष्ट प्रकारको मित्रता रहेको बताउँदै भन्नुभयो, “नेपाल–भारतबीच जुन दोस्ती छ, त्यो दुनियाँमा अन्यत्र छैन ।” मोदीले नेपालको विकास यात्रमा सहयोग गर्न भारत सधैँ तयार र सकारात्मक रहेको बताउँदै ऊर्जा, सूचना प्रविधि, यातयात, व्यापारको क्षेत्रमा सम्पर्क सञ्जाल बढाउनुपर्नेमा जोड दिनुभयो । ऊर्जा विकासको सहकार्य र साझेदारीका लागि दुई देशले संयुक्त भिजन पेपर बनाएर अघि बढ्नुपर्ने प्रस्ताव पनि राख्नुभएको थियो ।
उहाँले नेपालले विद्युत् उत्पादन गरेर भारतलाई बेच्न सक्ने बताउँदै भन्नुभयो, “नेपालको विद्युत् हामी किन्छौँ । विद्युत् वा ऊर्जा निर्यात गरेर नेपाल प्रगति गर्नसक्छ ।”मोदीले पञ्चेश्वर परियोजनाको कार्यान्वयनलाई गति प्रदान गर्न भारत तयार रहेको बताउँदै भन्नुभयो, “यसबारेमा प्रधानमन्त्री देउवासँग ठोस छलफल भएको छ । मोदीले केही अवाञ्छित तìवहरूले खुला सीमाको दुरुपयोग नगरून् भन्नेबारे दुवै पक्ष सतर्क रहनुपर्नेमा जोड दिनुभयो ।”
दुई प्रधानमन्त्रीबीच भएको द्विपक्षीय भेटमा खुला सीमाको नियमन र सुरक्षाबारे पनि छलफल भएको थियो । खुला सीमाको फाइदा उठाएर अवाञ्छित तìवहरूले घुसपैठ गर्नसक्ने भएकोले यसबारेमा दुवै पक्ष सचेत हुनुपर्नेमा जोड दिइएको थियो । यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा शनिबार भारतीय प्रधानमन्त्री मोदीले दिवाभोगको आयोजना गर्नुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा रहेको छ ।