वि.सं. २०७९ कार्तिक १५ गते मङ्गलवार तदनुसार ई. सं. २०२२ नोभेम्बर ०१ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४३, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०६:१५ बजे र सूर्यास्त : साँझ ०५:१८ बजे. चन्द्रोदय : दिउँसो ११:३० बजे र चन्द्रास्त : मध्यरात्रीपूर्व ११:१० बजे, कार्तिक शुक्लपक्ष (कछलाथ्व) अष्टमी तिथि, मध्यरात्रीपछि ०१:१० बजेसम्म, त्यसपछि नवमी तिथि, उत्तराषाढा नक्षत्र, बिहान ०७:२० बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, भोलि बिहान ०५:४१ बजेसम्म, अन्तिममा धनिष्ठा नक्षत्र (नक्षत्र टुटेको दिन) चन्द्रमा मकर राशिमा (अहोरात्र व्याप्त)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । घरायसी रमझम र कामधामबाट फुर्सद निकाल्न सकिंदैन, कामकाजी महिलाले कार्यक्षेत्रमा उन्नति गर्नेछन्, तर पनि पारिवारिक जिम्मेबारी बढिरहने समय हो । मिहिनेत गर्नुपर्ने दिन हो, कुनै परीक्षा वा प्रतिस्पर्द्धामा सहभागी हुनुछ भने निराश नभई प्रयास गर्नुहोस्, रिजल्ट तपाईंको पक्षमा आउने छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने सहयोगी र जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूणर् हुनेछन् । नयाँ ठाउँको छोटो यात्राले आपसी सम्बन्धमा प्रगाढता छाउनेछ, सँगै बसेर छलफल गर्ने र मनका इच्छालाई सेयर गर्ने दिन हो ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सामाजिक वा परोपकारी काममा मन जानेछ । भाग्यले साथ दिनेछ, बढुवा, प्रशंसा वा प्रतिष्ठा मिल्नेछ । आर्थिक क्षेत्र सामान्य नै रहने देखिन्छ । चुनौतीका बीचमा सम्भावनाका बाटाहरू फेला पर्नेछन् । नयाँ काम गर्नु छ भने कानूनी पाटो ख्याल गरी सुरु गर्नु उचित हुनेछ । लो ब्लडप्रेसरको समस्या छ भने स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ, त्यस्तै कुनै शङ्काले पिरोलेको छ भने विश्वस्त व्यक्तिसामु आफ्ना कुरा राख्नु ठीक हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । कार्यक्षेत्रमा सफल हुने दिन हो, तर आफ्नो काममा मात्र एकोहोरिनुभन्दा पनि जीवनसाथी वा परिवारका सदस्यहरूको इच्छा बुझेर काम गर्ने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दोधारेपन, अलमल र चिडचिडेपन हाबी हुने दिन हो, अझ पार्टनरका क्रियाकलाप वा कुनै कुराप्रति शङ्का उब्जनाले दिक्क लाग्ने समय छ । इष्टमित्र वा साथीभाइसँग भेटघाट गर्ने अवसर जुट्नेछ । कुनै कुराले मनमा उत्साह जाग्नेछ । नयाँ ठाउँमा फड्को मार्ने योजना बन्नसक्छ । कानुनी वा लगानी सम्बन्धी जटिलता देखा पर्नेछ । काम गर्ने तौरतरिका र व्यवस्थापन पक्षमा पनि सुधार ल्याउनु आवश्यक छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कसैसँग कुनै कुरामा वैचारिक मतभेद हुनसक्छ । सानातिना समस्यामा अल्झनुपर्ने हुन्छ । सौन्दर्यता र रमझममा धन खर्च हुनेछ । तिर्सना जाग्ने समय छ । पूर्वअनुभव र सीपप्रति आशावादी बन्ने दिन हो, कर्मप्रति समर्पित हुनुपर्छ, आइपर्ने विघ्नबाधा र अवरोधमाथि समेत नजर राख्न नबिर्सनु होला । जीवनसाथी र छोराछोरीका क्रियाकलापमा चिन्ता बढ्नेछ, नातागोताको के महत्त्व छ भन्ने बुझी आज नेटवर्किङ र सामाजिक सञ्जालमा पनि सक्रियता बढ्नसक्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । कार्यक्षेत्रमा सहयोगी स्टाफ वा जुनियर कर्मचारीका तथा घरपरिवारमा परिवारका सदस्यको कुरा सुन्ने तथा भावना बुझ्ने दिन हो । परिबन्द र बाध्यतामा खुम्चनु पर्दा मन निरस बन्नसक्छ, चाहँदाचाहँदै पनि पार्टनरको इच्छानुसार समय दिन नपाउँदा झन नरमाइलो लाग्नसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कतिपय आर्थिक समस्या सञ्चारसम्पर्कबाट नै हल गर्न सकिने छ । सञ्चार क्षेत्र, वित्तीय कारोवार, यातायात, ढुवानी र मार्केटिङको व्यवसायमा विशेष लाभ देखिन्छ । मान्यजनसँग निकटता बढ्ने वा उहाँहरूलाई आदरभाउ गर्नुपर्ने दिन हो । दाजुभाइ वा माइतीपक्षसँग समेत सम्पर्क गरी भलाकुसारी गर्नु ठीक हुन्छ । मिहिनेतको राम्रो नतिजा प्राप्त हुने समय हो, सोचेको उपलब्धी हात पार्नाले साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पारिवारिक बन्दोबस्ती वा व्यक्तिगत प्रयोजनका लागि केही धनको आवश्यकता पर्नसक्छ । पतिबाट कुनै उपहार वा भौतिक उपकरण प्राप्त गर्नाले मन फुरुङ्ग हुनेछ । प्रसिद्धि र सम्मानमा बृद्धि हुनेछ, गुरुजन, विद्वान् एवं अनुभवी व्यक्तिहरूका साथमा घुलमिल हुन र सङ्गत गर्न पाइने छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ । व्यक्तिगत उन्नति र प्रगतिको समाचारले मन प्रसन्न हुनेछ, अझ पार्टनरबाट शुभकामना प्राप्त गर्नाले थप सन्तुष्टि र आनन्दको अनुभूति हुनेछ । मानसिक चिन्ता बढेपनि श्रमको उचित मूल्याङ्कन हुनेछ । आफन्तको प्रगतिले मन रमाउनेछ । कार्यक्षेत्रमा व्यस्त रहँदा गर्नैपर्ने काममा बाधा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ । आनन्दप्राप्तिका लागि एकअर्काको कमजोरी खोतल्ने काम गर्नु हुँदैन, एकआपसमा समर्पित भएमा मात्र प्रेम सफल हुन्छ भन्ने कुरामा विश्वास गर्नुहोला । टेक्निकल वा मिलमेसिनरीको काममा सफलता पाउनुका साथै सामाजिक क्षेत्र वा वित्तीय संस्थाबाट सहयोग जुटाउन सकिने राम्रो दिन छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ । बौद्धिक र ज्ञानमूलक क्षेत्रमा थप मिहिनेत गर्ने दिन हो, सहयोगी र मित्रवर्गको साथ जुटाउनसके महत्त्वपूणर् उपलब्धि लिन सकिने छ । घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ ।