असोज १५, ललितपुर । पछिल्लो समय मुलुकभर नेकपा माओवादी परित्याग गरी एमालेमा प्रवेश गर्नेको लर्को लागेको छ । आगामी मंसिर ४ गते संघ तथा प्रदेशको निर्वाचन नजिकिँदै गर्दा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेशको लहरनै चलेको छ ।

यसै क्रममा आज नेकपा माओवादी केन्द्र ललितपुरका प्रभावशाली नेता, २०७० मा माओवादीको तर्फबाट संघका उम्मेदवार सरोज सिं डङ्गोल, माओवादीबाट महानगरका उपमेयरका उम्मेदवार बाबुराजा बज्राचार्य, प्रभावशाली नेता अमिर शाक्य, राष्ट्रिय सहकारी बैकका संचालक एव नेपालको सहकारी अभियानको राष्ट्रिय व्यक्तित्व रामहरी बजगार्इ, माओवादी जिल्ला सहकारी विभागका प्रमुख रुपेश तिमल्सिना, विभागका सदस्यहरु राजेन्द्र घिमिरे लगाएत सिङ्गो सहकारी विभाग नै एमालेमा प्रवेश गरेको छ । त्यस्तै महानगरका वडा अध्यक्षका उम्मेदवारहरु, वाइसीएल महानगरको सिङ्गो टिम सहित ३०० जना भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खादा तथा अविर लगाएर पार्टीमा सवागत गर्नुभयो । उहाँले नवप्रवेशीलाई आवश्यकता र क्षमताको आधारमा पार्टीले उचित जिम्मेवारी दिने बताउनुभयो । अध्यक्ष ओलीले नवप्रवेशीको साथ साथै एमालेका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुले आफ्नो पाँच वर्षको महान चाडको रुपमा निवर्नचनलाई लिनुपर्ने उल्लेख गर्दै नेपालीहरुको महान पर्वसँगै चुनावी अभियानलाई लैजान निर्देशन समेत दिनुभयो ।
