वि.सं. २०७९ आश्विन १५ गते शनिवार तदनुसार ई. सं. २०२२ अक्टोबर ०१ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, नेपालमा सूर्योदय : बिहान ०५:५६ बजे र सूर्यास्त : साँझ ०५:४९ बजे, चन्द्रोदय : दिउँसो १०:०९ बजे र चन्द्रास्त : बेलुका ०९:४८ बजे, आश्विन शुक्ल (दुर्गा) पक्ष (कौलाथ्व) षष्ठी तिथि, बेलुका ०८:३८ बजेसम्म, त्यसपछि सप्तमी तिथि, ज्येष्ठा नक्षत्र, भोलि बिहान ०४:०२ बजेसम्म, त्यसपछि मूल नक्षत्र, चन्द्रमा बृश्चिक राशिमा, मध्यरात्रीपछि ०४:०२ बजेसम्म, त्यसपछि धनु राशिमा
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
परीक्षा र प्रतिस्पर्द्धामा सामेल हुने हो भने गोपनीयतामा जोड दिनुहोला, अनि एक्लै वा एकान्तमा बसेर तैयारी गरेको राम्रो हुन्छ । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । गोपनीयता बाहिरिनाले वा विगतको सानो कमजोरीले तनाव बढ्ने तथा मनमा अनावश्यक भय र त्रास सिर्जना हुने कमजोर समय छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
घरपरिवारको आँखा छलेर पार्टनरलाई समय छुट्याउन अप्ठ्यारो पर्नसक्छ, तर कसोकसो भेटघाट, मनोरञ्जन र घुमघामको मेसो मिल्ने दिन हो । किनमेलका क्षेत्रबाट लाभ हुनेछ । साझेदार र सहयोगीले पूणर्रूपेण सहयोग गर्नेछन् । कुनै प्रतिस्पर्द्धामा समेत सफलता हासिल हुनेछ । मौजमस्ती र आनन्दका लागि समय निस्कनेछ, तरल पदार्थको कारोबार, पेट्रोल, सुगन्ध र रेडिमेड वस्त्रका व्यवसायीले लाभ पाउने सङ्केत छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राम्रो गर्दागर्दै पनि अवगाल खेप्ने समय हो, रिसराग, द्वेष र अहङ्कार आफ्नै मनमा लुकेर बसेका शत्रुहरू हुन् भन्ने बुझेर तिनलाई दमन गर्नु ठीक हुन्छ । आफूले गरेको मिहिनेतको राम्रो नतिजा हात पर्नेछ, यद्यपि आज स्वास्थ्यस्थिति र आरामप्रति सचेत बन्नु आवश्यक छ । कानूनी वा प्रशासनिक उलझन सुल्झाउन उपयुक्त समय रहेको छ, लोकप्रियता बढ्ने तथा साझेदारी व्यवसायमा लाभ पाउने समय हो, तथापि अधिकार प्राप्ति वा भविष्यको चिन्ताले सताउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ । मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ । पारिवारिक सुखमा अभिबृद्धि हुनेछ, आफन्त र शुभचिन्तकले पूणर् सहयोग गर्नेछन् । विशिष्ट व्यक्तिसँग घुलमिल र उठबस हुने दिन हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
घरजग्गा, स्थिर सम्पत्ति र वाहनसुखको व्यवस्थापन गर्ने मनसाय बन्नसक्छ । दौडधूप गर्नुपर्ने काम वा भ्रमणमूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । रमझममा भुलिंदा पढाइ बिथोलिन सक्छ, तर कुनै पाठमा कमजोरी देखिएमा सहपाठी साथीहरू वा शिक्षकको सहयोग लिनु जाती हुन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
पारिवारिक सौहार्द्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । विद्वान् व्यक्तिका साथमा निकटता बढ्ने समय हो, नजानेको कुनै कुरा छ भने दाजु/दिदी वा गुरु/गुरुआमाको सहायता लिंदा लाभ पाइने छ । सामाजिक क्षेत्रको काम वा सार्वजनिक हीतको विषयमा सक्रिय हुने मानसिकता बन्नुका साथै करियर परिवर्तन र उच्च शिक्षा पनि प्राथमिकताको विषय बन्नसक्छ, तर जीवनका विभिन्न आयाममा सन्तुलन राख्न प्रयास गर्नुपर्छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
एक्लै हुनुहुन्छ भने अब निराश हुनुपर्दैन, आज त्यस्तो व्यक्तिसँग चिनजान हुनेछ, जसले तपाईंको मनभित्रको उजाड फूलबारीलाई रङ्गीन बनाउन सक्छ । नचिताएको सम्पत्ति हातमा आइपुग्ने समय हो, लटरी वा चिट्ठामा सहभागी हुन अनुकूल समय छ । कुनै भौतिक उपकरणको खरिद गर्न सकिने छ । कामबाट फाइदा हुनेछ, रकम व्यवस्थापनका लागि गरिएका प्रयासहरू सफल हुनेछन्, तर नातागोता र करकुटुम्बका काममा खट्नुपर्दा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अरुले के गर्दैछन् र के सोच्दैछन् भन्ने चिन्ता गर्ने होइन, बरु आफ्नो कहाँ कमजोरी छ पत्ता लगाएर अघि बढ्ने समय हो । मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ । नयाँ जिम्मेबारी वा पदभार ग्रहण गर्ने दिन हो । सहकर्मीका माझमा क्रूर बन्नुको सट्टा व्यवहारिक बन्नसकेमा मात्र काम निकाल्न सकिने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
घरपरिवार वा आफन्तका निमित्त खर्च गर्ने परिबन्द छ, त्यस्तै कुनै नयाँ वस्तु किन्ने योजना छ भने त्यो कति बलियो छ र कति टिक्छ ? भन्ने कुरामा हेक्का राख्नु होला । पुरानो समस्या सुल्झाउने क्रममा दिन बित्नसक्छ, लाभमूलक काममा कार्यालयबाहिरको काममा पनि खट्न सकिने छ । तर कर्तव्य र जिम्मेबारीप्रति सचेत हुनुपर्छ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाम्पत्यसुख र प्रेम सम्बन्धका निमित्त राम्रो समय छ, एक्लै बस्नुहुन्छ भने घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गरेको जाती हुन्छ । सरकारी कामका माध्यमबाट धनार्जन गर्न सकिने छ, कुनै प्रतिष्ठान वा कार्यालयको बाँकीबक्यौता उठाउनु छ भने प्रयास गर्नुहोला । इच्छा र योजना अनुसार सबै कामहरू सम्पन्न हुनेछन् । पारिवारिक वातावरण पनि सकारात्मक नै देखिन्छ, तर अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
वाहनसुखको योग छ वा महत्त्वपूणर् भ्रमणको सङ्केत छ । घरबाट कुनै शुभ वा माङ्गलिक कर्म गर्नेबारेमा सन्देश पाउन सक्नुहुन्छ । सामाजिक र राजनैतिक हैसियत निर्माणका दिशामा केही लगानी गर्नुपर्ने हुन्छ । प्रशासनिक वा सरकारसम्बद्ध कुनै काम सुल्झाउन उपयोगी समय छ । मज्जाले खट्नुपर्ने दिन हो, व्यस्त रहनाले दाम्पत्य र प्रेम जीवनसमेत प्रभावित बन्नसक्छ । आज शारीरिक तन्दुरुस्ती र आरामका बारेमा पनि विचार गर्नुहोला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
भाग्यले साथ दिने समय हो, आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ । लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने सहयोगी र जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूणर् हुनेछन् । कार्यक्षेत्रको व्यस्तताले आपसी समन्वयमा कमी देखिने छ, भेट हुनसक्दैन भने कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला ।
